
१४ भाद्र २०७७, आइतवार
सिन्धुली तिनपाटन गाउँपालिका–८ बाहुनतिल्पुङ निवासी भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारी ०७७ भदौ १३ गते अपहरणमा पर्नु भएकोमा चार घण्टापछि सकुशल मुक्त हुनु भएको छ ।
उहाँलाई विहान साढे ९ बजे बाटोमा हिँडिरहेका अवस्थामा १५ जनाको सङ्ख्यामा आएका अपरिचित व्यक्तिहरूले अपहरण गरेका थिए । स्थानीयवासी र प्रहरीले सहयोगमा उहाँ अपहरण मुक्त हुनु भएको हो ।
स्थानीयवासीले घेराबन्दी गरेका भए पनि प्रहरी देखेपछि घेरा तोडेर भागेका थिए । घेरा तोडेर भाग्ने क्रममा एक जनालाई भने प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
अपहरणकारीको चौतर्फी घेराबन्दी गरी खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ । शिक्षक भण्डारीलाई के कारणले अपहरण गरियो भन्ने विषयमा भने केही पनि नखुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रञ्जु सिग्देलले बताउनु भयो ।
उनीहरू को हुन र किन अपहरण गरे भन्ने बारेमा खुल्न नसकेको र अनुसन्धानमै रहेकोले नाम सार्वजनिक नगरिएको एसपी सिग्देलले बताउनु भयो । गिरफ्तार व्यक्तिसँग रहेको एक शङ्कास्पद वस्तु समेत प्रहरीले बरामद गरेको र फरार रहेका अपहरणकारीको खोजी कार्य जारी राखिएको उहाँले बताउनु भयो ।