कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनी बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री शर्मालाई कर्णालीका प्रदेश प्रमुख तिलक परियारले बिहीबार एक समारोहकाबीच शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्रीले शपथ लिएसँगै बिहीबार नै मन्त्रिमण्डल पनि विस्तार गरेका छन् ।

मुख्यमन्त्री शर्माले एमालेका विनोदकुमार शाह र माओवादीका सांसद मंगलबहादुर शाहीलाई मन्त्रीमा नियुक्त गरेका हुन् । दैलेखको निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित शाह र मुगुको प्रदेशसभा (ख) बाट निर्वाचित शाहीले पनि बिहीबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन । सत्ता गठबन्धनमा थप छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने र मन्त्रालयको पनि भागबण्डा गर्ने तयारीमा मुख्यमन्त्री छन् ।

सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रबीच एमालेले तीन र माओवादीले मुख्यमन्त्री तथा अरु तीन वटा मन्त्रालय लिने सहमति भएको छ ।
कर्णालीमा मन्त्रालयको संख्या सात बनाउने सत्ता गठबन्धनको तयारी छ । सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रबीच एमालेले तीन र माओवादीले मुख्यमन्त्री तथा अरु तीनवटा मन्त्रालय लिने सहमति भएको छ । सोही सहमतिको आधारमा मन्त्रालयको भागबण्डा गरेर बाँकी मन्त्री नियुक्त हुने बताइएको छ । मुख्यमन्त्री शर्माले आफ्नो पहिलो प्राथमिकता कर्णालीको गरिबी न्यूनिकरणमा केन्द्रीत हुने बताएका छन् ।

प्रदेशको गरिबी न्यूनिकरण गरेर मात्र समृद्धि हाँसिल गर्न सकिने उनको भनाइ छ । शर्माले २५ जना सांसदको हस्ताक्षरसहित बुधबार प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए ।

उक्त दाबीपछि प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शर्मालाई बुधबार नै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । वर्तमान सत्ता गठबन्धनको भागवण्डामा कर्णालीमा सरकारको नेतृत्व माओवादीको भागमा परेको थियो ।

शर्मालाई माओवादीका १३,एमालेका १०,एकीकृत समाजवादीका एक र राप्रपाका एक जना सांसदको समर्थन छ । ४० सदस्यीय प्रदेशसभा रहेको कर्णालीमा बहुमतको सरकार गठन गर्न कम्तिमा २१ जना सांसद चाहिन्छ । मुख्यमन्त्री शर्माको पक्षमा २५ जना सांसद छन् । प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस प्रतिपक्ष बनेको छ । यहाँ काँग्रेस १४ सांसदसहित पहिलो दल बनेको छ । यस्तै एकजना स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर