सुर्खेतको सहिद पार्कमा बनाइएको स्वरूप नमिलेको बाघको मूर्ति मर्मत गरिने भएको छ। पार्कमा बनेको पाटेबाघको मूर्तिको स्वरूप नमिलेपछि सामाजिक सञ्जालमा यसको आलोचना भइरहेको छ।

सुरूमा अस्वभाविक खर्चमा निर्माण गरिएको भन्दै आलोचना भएको उक्त प्रतिमाको अहिले स्वरूप नमिलेको भन्ने आलोचना बढेको छ।

पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा रहेको पार्कमा पर्यटककै आकर्षणका लागि बनेको पाटेबाघको मूर्तिको आलोचना भएपछि फेरि त्यसलाई मर्मत गरेर पाटेबाघकै आकर्षक स्वरूपमा ल्याउने तयारी गरिएको वीरेन्द्रनगर-४ का वडाध्यक्ष शेरबहादुर केसीले बताए।

‘पार्कको व्यवस्थापन तथा सञ्चालनको जिम्मा लिएको सामुदायिक वनले यो मूर्ति बनाएको हो, उहाँहरूले जसलाई जिम्मा दिएर मूर्ति बनाउन लगाउनुभएको थियो, उहाँसँगै कुरा गरेर फेरि मर्मत गरिदिने कुरा भएको छ,’ वडाध्यक्ष केसीले भने, ‘उहाँले कालीगढलाई झिकाएर बनाउन लगाउँछु भनेर प्रतिबद्धता गर्नुभएको रहेछ।’

अहिले सहिदपार्कमा राखिएको पाटेबाघको मूर्तिको आधार अस्वाभाविक मोटो देखिएको छ। उक्त मूर्ति एउटै ढुंगाबाट बनेकोले त्यसलाई काँटछाँट गर्ने काम गर्दा स्पष्ट आकार आउने दाबी केसीले गरे।

वीरेन्द्रनगर-४ मा रहेको भैरव सामुदायिक वनभित्र पर्यटकीय गन्तव्यका रूपमा सहिद पार्क बनाइएको छ। उक्त पार्कको जिम्मो सामुदायिक वनले नै लिएको छ।

भैरव सामुदायिक वनका अध्यक्ष अम्मर कार्कीले सामाजिक सञ्जालमा भइरहेको आलोचनाको समाधान हुनेगरी पुनः मर्मत गरेर मूर्तिलाई सही आकार दिइने बताए।

‘ठ्याक्कै बाघको आकार नदेखिएको कुरा त हामीले पनि सुरूदेखि नै महसुश गरेका थियौं, बनेको छोटो समयमै आलोचना पनि सुरू भइसकेको छ,’ उनले भने, ‘अब हामीले जिम्मा दिएको व्यक्तिलाई यो कुरा गरिसकेका छौं, उहाँले पनि बनाउने कालीगढलाई झिकाएर मर्मत गर्ने कुरा गर्नुभएको छ। अब तत्कालै त्यहाँको मूर्तिमा पाटेबाघको आकर्षक आकार आउँछ।’

सामुदायिक वनले उक्त मूर्ति निर्माण गर्नका लागि वीरेन्द्रनगरकै कृष्णकुमार श्रेष्ठलाई जिम्मा दिएको थियो। जिम्मा लिएका श्रेष्ठले सुर्खेत बाहिरबाट कालीगढ ल्याएर सहिद पार्कमा राख्ने पाटेबाघको मूर्ति बनाउन लगाएका थिए।

जिम्मा लिएका श्रेष्ठले माघ १२ गतेभित्र त्यो मूर्ति बनाउने कालीगढ सुर्खेत आउने र बनाईदिनेगरी मौखिक सम्झौता भएको बताए।

‘अर्को महिनाको १०/१२ गते कालीगढ सुर्खेत आएर मर्मत गरिदिने कुरा भएको छ,’ उनले भने, ‘अहिले मोटो देखिएको छ, फेरि मर्म गर्दा पातलो बन्छ र आकर्षक स्वरूप आउँछ।’

कालीगढले उक्त मूर्ति बनाउन हतारमा काम गरेकाले स्वरूप नमिलेको स्वीकार गरेको श्रेष्ठले बताए। उनका अनुसार कालीगढले सहिदपार्कको मूर्तिलाई स्वरूपमा ल्याउँदा पुरानै शुल्कमा बनाउने भएका छन्।

सामुदायिक वनका अध्यक्ष कार्कीले पनि मर्मतका लागि थप शुल्क नदिइने बताए।

सहिद पार्कमा राख्नका लागि पहिले पनि पाटेबाघको मूर्ति बनाइएको थियो। त्यो मूर्तिको पनि ठ्याक्कै स्वरूप थिएन। तैपनि ढुंगाहरू जोडेर बनाइएकाले टुक्रिन थालेपछि अर्को पाटेबाघको मूर्ति बनाउने योजना सामुदायिक वनको थियो।

पहिले बनाइएको पाटेबाघको मूर्तिको लागि ४५ हजारमा सम्झौता भए पनि भनेअनुसार नभएपछि बनाउने मान्छेलाई २८ हजार रुपैयाँ मात्र भुक्तानी गरिएको थियो। तैपनि उक्त मूर्तिको लागत खेर गएको छ।

पछिल्लो समय बनाइएको स्वरूप नमिलेको मूर्ति भने ५० हजारमा बनाइएको हो।
सामुदायिक वनले सहिद पार्कमा आउने पर्यटकबाट लिइने शुल्कबाट जम्मा भएको रकमले बाघका दुई वटा मूर्ति बनाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

सोमंबुबिशु