बिरटनगर / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रियसभामा रिक्त उपाध्यक्ष तथा रिक्त एक सांसद्को चुनावबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

राष्ट्रियसभामा गत फागुनदेखि उपाध्यक्ष पद खाली रहेको छ भने नेकपा (एमाले) का तर्फबाट सांसद रहेका खीमलाल भट्टराईले राजीनामा दिएपछि लुम्बिनी प्रदेशबाट एक सांसद पद रिक्त रहेको छ।

भेटका क्रममा राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा पेश भई निष्क्रिय भएका पाँचवटा विधेयकलाई पुनःराष्ट्रियसभा मै दर्ता गरी अगाडि बढाउन अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

राष्ट्रियसभामा उत्पत्ति भई लामो छलफलपछि पारित भएर प्रतिनिधिसभामा गएका विभिन्न पाँच विधयेक प्रतिनिधिसभाको कार्यकाल सकिएपछि निष्क्रिय भएका थिए।

त्यसरी निष्क्रिय भएका नेपाल मिडिया काउन्सिल विधेयक, नीति अनुसन्धान विधेयक, नेपाल विशेष सेवा विधेयक, नेपाल नागरिक उड्ययन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधयेक रहेका छन्।

त्यसैगरी प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष तिमिल्सिनाले मुस्ताङको कोरला नाकामा नेपालतर्फ भन्सार कार्यालय निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गरी पूर्वाधार निर्माण कार्य अगाडि बढाउन आग्रह गरेका थिए।

कोरला नाकामा चीनतर्फ आवश्यक पूर्वाधार निर्माण भए पनि नेपालतर्फ पूर्वाधार नबन्दा नाका सञ्चालनमा आउन सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर