राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न दलहरूलाई दिएको समय आज सकिँदैछ। गत पुस ३ गते राष्ट्रपतिले एक साताको समय दिँदै पुस १० गते अपरान्ह ५ बजेभित्र प्रधानमन्त्रीमा दाबी गर्न समय दिएकी थिइन्।

दलहरूले यसबीचमा आ-आफ्नो पार्टीमा संसदीय दलको नेतासमेत चयन गरिसकेका छन् भने नयाँ सरकार बनाउन छलफल पनि गरिरहेका छन्।
तर को प्रधानमन्त्री बन्ने, कुन-कुन दल मिलेर सरकार बनाउने भन्नेजस्ता सहमति हुन सकेका छैनन्।

नेपाली कांग्रेसले अहिलेकै सत्ता गठबन्धनबाट नयाँ सरकार बनाउन पहल गरिरहेको छ भने गठबन्धनमा जनमत पार्टीलगायत केही पार्टीलाई पनि समावेश गर्ने कोसिस गरिरहेको छ।

नेकपा एमालेले पनि नयाँ सरकार बनाउन पहल गरिरहेको छ। माओवादीले गठबन्धन छाडेमा नयाँ सरकार बनाउन सकिने एमाले नेताहरू बताउँछन्। अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले प्रधानमन्त्री हुने इच्छा देखाए पनि ढिलो गरी इच्छा देखाएकोले प्रधानमन्त्री हुन गाह्रो रहेको प्रतिक्रिया दिएका छन्।

‘पुष्पकमल दाहालजी प्रधानमन्त्री बन्ने इच्छा देखाइरहनुभएको छ। तर मलाइ लाग्छ उहाँले ढिलो गर्नुभयो। निर्णय गर्न ढिलो गर्नुभयो,’ प्यूठान-काठमाडौं मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले भने, ‘समयमा इच्‍छा देखाउन नसकेकाले प्रधानमन्त्री बन्ने सम्भावना समाप्त भएजस्तो लाग्छ।’

तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल आफैँ प्रधानमन्त्री बन्ने तयारी गर्दैछन्। सकेसम्म सत्ता गठबन्धनमै रहेका दलहरूबाट पहिलो कार्यकाल प्रधानमन्त्री लिने अडानमा प्रचण्ड उभिएका छन्।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो कार्यकाल आफू नै प्रधानमन्त्री हुनुपर्ने बताइरहेका छन्। संसदमा ८९ सांसदसहित सबैभन्दा ठूलो दल रहेको भन्दै कांग्रेसका अधिकांश सांसदहरू पहिलो कार्यकाल कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने बताइरहेका छन्।

कसको नेतृत्वमा सरकार बनाउने? राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षजस्ता पद कुन-कुन दलले लिने भन्नेमा दलहरू सहमतिमा पुगिसकेका छैनन्। सम्भवत आज दलहरूले यसबारे प्याकेजमै सहमति गरेर राष्ट्रपतिले दिएको समयभित्रै प्रधानमन्त्रीमा दाबी गर्न जाने तयारी गर्दैछन्।

शनिबार पनि दलहरूले नयाँ सरकार गठनबारे बालुवाटारमा छलफल गरेका थिए।
‘जनताको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा पनि हामी सहमतिमा पुगेका छौँ,’ छलफलमा सहभागी सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘अहिलेको सन्दर्भमा प्रधानमन्त्री को पहिला हुने भन्ने कुरा गौण विषय हो। यसमा हलो अड्किन्न। मुलुकलाई अहिलेको जनताको आकाङ्क्षाअनुसार कसरी अगाडि बढाउने भन्ने कुरा हो। गठबन्धनकै नेतृत्वमा सरकार बन्छ।’

सत्ता गठबन्धनका दलहरू प्रधानमन्त्रीमा आलोपालो गर्न सहमत भए पनि को पहिले प्रधानमन्त्री बन्ने भन्नेमा सहमतिमा पुग्न बाँकी छ। पहिलो कार्यकाल कांग्रेस र माओवादीले दाबी गरिरहेका छन्। कांग्रेस र माओवादीलाई दुई-दुई वर्ष र बाँकी १ वर्ष एकीकृत समाजवादीलाई प्रधानमन्त्री दिने गरी पनि छलफल भएका थिए तर सहमति नभइसकेको नेताहरूले बताएका छन्।

नयाँ सरकार गठनका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था रहेको छ।

सोही व्यवस्थाअनुसार राष्ट्रपतिले पुस १० गते आइतबार अपरान्ह ५ बजे भित्र दाबी पेस गर्न दलहरूलाई आह्वान गरेकी थिइन्। कार्कीका अनुसार आज बिहान पनि सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूबीच नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुनेछ।

यसैबीच कांग्रेसका सांसदहरूले भने हस्ताक्षर संकलन गरिसकेका छन्। शुक्रबार र शनिबार गरी उनीहरूले हस्ताक्षर संकलन गरेका हुन्। नयाँ सरकार गठनका लागि राष्ट्रपति कार्यालयमा हस्ताक्षर देखाउन पर्ने हुन सक्ने भन्दै उनीहरूले हस्ताक्षर संकलन गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर