फिफा विश्वकप २०२२ को पहिलो सेमिफाइनलमा आज राति अर्जेन्टिना र क्रोएसियाबीच खेल हुँदैछ। नेपाली अनुसार राति १२:४५ बजे कतारको लुसेलस्थित लुसेल रंगशालामा दुई टिम फाइनल प्रवेशका लागि भिड्नेछन्।

आठ वर्षअघि अर्जेन्टिना र चार वर्षअघि क्रोएसियाले सेमिफाइनल पार गरेका थिए। तर फाइनलमा दुवै टिम असफल भएका थिए। त्यसैले पनि दुवै टिम यसपटक फाइनल जितेर इतिहास रच्न चाहान्छन्।

खेललाई कप्तानद्वय लिओनल मेसी र लुका मोड्रिकबीचको भिडन्तको रुपमा लिइएको छ। विश्वकपमा गोल्डेन बल पाइसकेका र फिफा वर्ष खेलाडीको अवार्ड जितिसकेका यी दुई खेलाडी मध्ये एकका लागि मंगलबार राति खुसी दिन हुनेछ भने अर्का लागि दु:खको क्षण।

खेलले विश्व फुटबलका सुपरस्टार मेसीको अन्तिम इच्छाको निर्क्यौल गर्नेछ। गत वर्ष कोपा अमेरिकाको उपाधि जितेर आफ्नो पहिलो धोको पूरा गरेका मेसीका लागि आफ्नो अन्तिम धोकोको रुपमा रहेको विश्वकपको ट्रफी उचाल्नका लागि क्रोएसियाविरुद्धको खेल महत्वपूर्ण छ।

गत संस्करणको उपविजेता क्रोएसियाका विशेषगरी मिडफिल्डरहरू अर्जेन्टिनालाई चुनौती दिनेछन्। मेसीले क्लब फुटबलमा सबै उपलब्धि हासिल गरिसकेका छन्।

स्पेनिस महारथी बार्सिलोनाका लागि उनले १० ला लिगाका उपाधि जिते। फ्रेञ्च क्लब पिएसजीमा आबद्ध भएपछि मेसीले त्यहाँ पनि लिगको उपाधि जितिसकेका छन्। चार पटकका च्याम्पियन्स लिगका विजेता मेसीले कोपा अमेरिका २०२१ जितेर देशका लागि उपाधि जित्ने खडेरी तोडेका थिए।

कीर्तिमानी सात पटक बालन डि’अर अवार्ड हात पारेका मेसीले अब विश्वकप जित्ने अन्तिम मौका भएको स्वयमले पनि बताउँदै आएका छन्।

विश्व फुटबलका सर्वकालिन महान् खेलाडीहरू ब्राजिलका पेले र अर्जेन्टिनाका डिएगो म्याराडोनाको उचाइ छुनका लागि ३५ वर्षीय मेसी विश्वकपको उपाधि जित्न चाहान्छन्। अर्जेन्टिनाले पछिल्लो पटक ३६ वर्षअघि सन् १९८६ मा म्याराडोनाको प्रभावशाली खेलमा विश्वकप जितेको थियो।

सन् २०१४ मा अर्जेन्टिनाका लागि उपाधि जित्ने अवसर आएको थियो। तर फाइनलमा जर्मनीसँग पराजित हुँदा मेसी र अर्जेन्टिनाको सपना चकनाचुर भएको थियो। फेरि आठ वर्षपछि मेसीका सामू अर्को अवसर आएको छ। तर त्यसका लागि अर्जेन्टिनालाई सेमिफाइनलमा क्रोएसियालाई पन्छाउन सजिलो भने छैन।

अर्कोतर्फ क्रोएसियाका लागि पनि यसपटक सन् २०१८ को पीडा भुलाउने अवसर आएको छ। २०१८ को रसिया विश्वकपमा फाइनल पुगेर फ्रान्ससँग पराजित भएको पीडा उनीहरूले अझै बिर्सिएका छैनन्।

गत वर्षपछि क्रोएसियाले अन्तिम चारसम्म स्थान बनाउने क्रममा डेनमार्क र रसियालाई पेनाल्टी सुटआउटमा हराएको थियो। यसपटक पनि त्यसै भयो। जापान र ब्राजिलाई पेनाल्टी सुटआउटमै हराउँदै क्रोएसियाले सेमिफाइनलमा स्थान बनायो।

क्रोएसियाले विश्वकपमा नकआउट चरणमा ९० मिनेटमा जित निकाल्न नसकेको २४ वर्ष भइसकेको छ। पछिल्लो पटक सन् १९९८ को विश्वकपको क्वार्टरफाइनलमा क्रोएसियाले जर्मनीमाथि ३-० गोलको जित निकालेको थियो।

३७ वर्षीय मिडफिल्डर लुका मोड्रिकको नेतृत्वमा क्रोएसियाले मिडफिल्डमा उत्कृष्ट फुटबल खेलिरहेको छ। जसका कारण उसले अन्तिम चारमा स्थान बनाउन सक्यो। एक्स्ट्रा समयको खेलबाहेक मोड्रिकको लय उस्तै छन्, उनी टिममा छाइरहेका छन्।

२०१८ को विश्वकपमा अर्जेन्टिना र क्रोएसिया समूह चरणमै भिडेका थिए। त्यतिबेला क्रोएसियाले अर्जेन्टिनामाथि ३-० गोलको जित निकालेको थियो। त्यसैले अर्जेन्टिनाले क्रोएसियालाई भुलेर पनि कमजोर सोच्ने छैन। मेसी भर्सेस मोड्रिक पहिलो सेमिफाइनल खेल मेस र मोड्रिक बीचको हुनेछ।

१० नम्बरको जर्सी, बालन डि’अर विजेता र कप्तानी भूमीका दुवै खेलाडीको सामनता हो। मेसी र मोड्रिक दुवैका लागि संन्यास लिनुअघि विश्वकपको उपाधि जित्ने यो अन्तिम अवसर हुन सक्छ। अर्जेन्टिनका लागि मोड्रिक र क्रोएसियाका लागि मेसी चुनौती हुन्। दुवैले आफ्नो टिममा प्रभाव जमाइरहेका छन् र सेमिफाइलनमा पनि प्रभाव पर्नेछन्।

सेमिफाइनलसम्म आइपुग्दा दुवैले टिमका लागि महत्वपूर्ण योगदान दिएका छन्। अन्तिम आठको पेनाल्टी सुटआउटमा दुवैले महत्वपूर्ण गोल समेत गरेका थिए। मेसीले नेदरल्यान्ड्सविरुद्ध पहिलो पेनाल्टी प्रहार गरेका थिए भने मोड्रिकले ब्राजिलविरुद्ध तेस्रो पेनाल्टी हानेका थिए।

मोड्रिक विश्वकपमा लगातार तीन पेनाल्टी सुटआउटमा गोल गर्ने पहिलो खेलाडी हुन्। ९० मिनेट वा खेल लम्बिएर १२० मिनेटसम्म पुगेमा मेसी सधैं उस्तै स्तरमा खेल्नेछन्। मेसीले जारी विश्वकपमा चार गोल र दुई एसिस्ट गरेका छन्।

मोड्रिकले गोल र एसिस्ट दुवै गर्न बाँकी छ। जबकी मेसी अग्रपंक्तिमा बढी खेल्छन् भने मोड्रिकले मध्यपंक्तिमा टिमका लागि विपक्षी क्षेत्रमा बल अघि बढाउन खेलिरहेका छन्। मेसीले समूह चरणमा साउदी अरेबियाविरुद्ध पेनाल्टीमा गोल गरेका थिए। मेक्सिकोविरुद्ध उनले एक गोल र एसिस्ट गरेका थिए।

यद्यपी उनले समूह चरणमा पोल्यान्डविरुद्ध पेनाल्टीमा गोल गर्न चुकेका थिए। अस्ट्रेलियाविरुद्ध अन्तिम १६ मा गोल गरेका मेसीले नेदरल्यान्ड्सविरुद्ध पहिलो गोल गर्नका लागि उत्कृष्ट पास मिलाइदिएका थिए। नेदरल्यान्ड्सविरुद्ध मेसीले दोस्रो गोल गरेका थिए।

मोड्रिकले जापानविरुद्धको अन्तिम १६ को खेलमा पूरा समय खेलेनन्। तर उनी ब्राजिलसँगको खेलमा भने १२० मिनेटसम्म मैदानमा थिए। जारी विश्वकपमा मेसीले २५ प्रहार गरेका छन्। जसमध्ये १२ प्रहार अनटार्गेट रहेका छन्।

यता मोड्रिकले फाइनल थर्डमा २०१ पास दिएका छन्। यो जारी विश्वकपमा फाइनल थर्डमा चौथो बढी पास हो। मेसी यो सूचीमा आठौं स्थानमा छन्। उनले १७१ पास फाइनल थर्डमा उपलब्ध गराएका छन्। मोड्रिक जारी विश्वकपमा बढी क्रस गर्ने खेलाडीको सूचीमा पाँचौ स्थानमा छन्। उनले २८ क्रस गरिसकेका छन्।

अर्कोतर्फ दुवै खेलाडीले विश्वकपको फाइनल खेलिसकेका छन्। आठ वर्षअघिको फाइनलमा जर्मनीसँग अर्जेन्टिना पराजित हुँदा मेसीले गोल्डन बल पाएका थिए। गत संस्करणमा पनि मोड्रिडका लागि मेसीकै झै नियती बन्यो। फाइनलमा पराजित भए तर उनले गोल्डेन बल जिते।

मेसीले विश्वकपमा आफ्नो गोल संख्या १० पुर्‍याएका छन्। विश्वकपमा १० भन्दा बढी गोल गर्ने सात जना खेलाडी मात्र छन्। विश्वकपमा तीन संस्करणको विश्वकपमा गोल गर्ने र एसिस्ट गर्ने कीर्तिमान पनि बनाएका छन्। मेसीले अर्जेन्टिनाका लागि १७० खेलमा ९५ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्।

मोड्रिकले क्रोएसियाका लागि १६० खेल खेल्दा २३ अन्तर्राष्ट्रिय गोल गरेका छन्। देशका लागि मेसीले गत वर्ष कोपा अमेरिकाको उपाधि जित्दा मोड्रिकले मुख्य अन्तर्राष्ट्रिय उपाधि जित्न बाँकी छ। सेमिफाइनल खेल मेसीका लागि क्लब र देशका लागि गरी १००२औं खेल हुनेछ। मेसीले करिअरमा कुल ७९० गोल र ३३९ एसिस्ट गरेका छन्।

सुरुमा क्रोएसियन तथा ब्रोस्निया-हर्जगोभनाका क्लबबाट खेलेका मोड्रिकको यकिन खेलको तथ्याङक भने उपलब्ध छैन। यद्यपी उनले स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएपछि ४३४ खेलमा ३८ गोल र ६५ एसिस्ट गरेका छन्। मेसीले कीर्तिमानी सात पटक बालन डि’अर जित्दा मोड्रिकले २०१८ मा यो अवार्ड पाएका थिए।

सन् २००७ पछि मेसी, रोनाल्डो, बेन्जिमा र मोड्रिडकले मात्र यो अवार्ड जितेका छन्। च्याम्पियन्स लिगको उपाधिमा भने मोड्रिक अघि छन्। उनले पाँच पटक च्याम्पियन्स लिगको उपाधि जित्दा मेसी चार पटक च्याम्पियन हुन सकेका छन्।

मेसी र मोड्रिक २७ औं पटक एकअर्काविरुद्ध मैदान उत्रन लागेका हुन्। २७ मध्ये २२ पटक मेसी र मोड्रिकले बार्सिलोना र रियल म्याड्रिडबाट खेल्दा एकअर्काको सामना गरेका थिए। जसमा १२ खेलमा मोड्रिक विजेता हुँदा मेसीले ९ खेल जिते। ५ खेल बराबरीमा सकिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर