२० मंसिर, काठमाडौ । कतारमा जारी फिफा विश्वकप २०२२ मा टिममा रहेका सबै २६ खेलाडीलाई खेल्ने अवसर दिँदै ब्राजिलले नयाँ कीर्तिमान बनाएको छ ।

सोमबार राति दक्षिण कोरिया विरुद्धको खेलमा तेस्रो रोजाइका गोलकिपर वेभर्टनलाई खेल्ने अवसर दिएपछि ब्राजिलले टिममा भएका सबै खेलाडीलाई मैदान उतारेको हो । सर्वाधिक पाँच पटकको विजेता ब्राजिल कोरियालाई ४–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रशिक्षक टिटेले टिममा भएका सबै खेलाडी अवसर दिने क्रममा खेलको ८०औं मिनेटमा पहिलो रोजाइका गोलकिपर एलिसन बेकरको स्थानमा वेभर्टनलाई मैदान पठाएका थिए ।

समूह चरणको सुरुवाती दुई खेलमा पहिलो रोजाइको टिम खेलाएका टिटेले नकआउट चरण पुगिसकेकपछि समूहको अन्तिम खेलमा क्यामरुन विरुद्ध दोस्रो रोजाइको टिम खेलाएका थिए । ब्राजिलले अहिलेसम्म ४ खेल खेल्दा सबै खेलाडी कम्तीमा एक पटक मैदान उत्रिसकेका छन् ।

दोस्रो रोजाइका गोलकिपर एडरसनले यसअघि क्यामरुन विरुद्ध खेलिसकेका थिए । त्यसैले पाल्मेरियसका गोलकिपर वेभर्टनले कोरिया विरुद्ध अवसर पाए ।

कोभिड १९ महामारीपछि अन्तर्राष्ट्रिय फुटबलमा २६ खेलाडी टिममा राख्ने चलन सुरु भएको थियो भने विश्वपकमा पहिलो पटक एक टिममा २६ खेलाडी राखिएको हो । यसअघिका विश्वकपमा भने एक टिममा २३ खेलाडी मात्र हुन्थे ।

यसअघि सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा नेदरल्याण्ड्सले टिममा भएका सबै २३ खेलाडीलाई प्रयोग गरेको थियो ।

तेस्रो स्थानको लागि ब्राजिल विरुद्ध भएको खेलमा नेदरल्याण्ड्सका गोलकिपर मिचेल भोर्न अन्तिम समयमा मैदान प्रवेश गरेपछि सबैले अवसर पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर