बाँके । छेउमै जनता समाजवादी पार्टीको सम्पर्क कार्यालयमा उसको चुनावी नारा घन्किरहेको थियो । नजिकै एउटा सूर्य र एउटा हलोको झन्डासहित चारजना कार्यकर्ताको साथ लिएर नेकपा एमालेका प्रदेशसभा उम्मेदवार निरक गुरुङ स्थानीयसँग भोट मागिरहेका थिए ।
उनी एमालेको तर्फबाट बाँके जिल्ला निर्वाचन क्षेत्र नं २ ‘२’ बाट प्रदेशसभा उम्मेदवार हुन् । यो त्यही क्षेत्र हो, जहाँ नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी तालमेल छ । राप्रपाका महामन्त्री तथा नेपालगञ्ज उपमहानगरपालिकाका पूर्व मेयर धवलशमशेर राणा बाँके–२ बाट उनीहरुका साझा उम्मेदवार हुन् ।
धवल पनि आफ्ना पार्टीमै रहेका केही कार्यकर्ता बोकेर एक्लै प्रचारमा हिँड्छन् । नेकपा एमालेका नेता कार्यकर्ताहरू धवलका लागि भोट माग्न खासै हिँडेका छैनन् । धवल लगभग एक्लै आफ्नो चुनावी अभियान सम्हालिरहेका छन् । एमालेसँग संयुक्त चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका उनी त्यसपछिका चुनावी अभियानमा राप्रपाका कार्यकर्तासंग मात्रै देखिएका छन् ।
यही क्षेत्रबाट प्रतिनिधिसभामा सत्तारुढ गठबन्धनको समर्थनमा नेपाली कांग्रेसका नेता सुदीप नरसिंह राणा उम्मेदवार छन् । तर प्रदेशसभा (२) मा भने माओवादीले पूर्वलडाकु अक्कलबहादुर बमलाई कांग्रेसका सुरेन्द्र हमालसँग प्रतिस्पर्धामा उतारेको छ । त्यसैले सत्ता गठबन्धनले प्रदेशसभामा यहाँ ‘मित्रवत’ प्रतिस्पर्धा भनेको छ । २०७४ सालमा पनि प्रदेशसभा सदस्य चुनिएका हमाल लुम्बिनी प्रदेशका वन तथा भूसंरक्षण मन्त्री छन् ।