वर्षौंदेखि अलपत्र हुलाकी सडक बनाउनुपर्ने माग गर्दै स्थानीयले बिहीबार सर्लाहीको कौडेनामा सवारी आवागमन अवरुद्ध पारेका छन् । स्थानीय ‘नो रोड नो भोट’ को नारा लगाउँदै विरोधमा उत्रिएका थिए । यसअघि पटक–पटक निर्वाचन जितेर गएकाहरूले सडक निर्माणमा पहल नगरेको स्थानीयको गुनासो छ ।हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुने सडक कालोपत्र माग गर्दै गरिएको चक्काजामका कारण बिहानैदेखि दक्षिण–पश्चिम क्षेत्रमा चल्ने सवारीसाधन ठप्प बने । विरोधमा उत्रिएका स्थानीय युवाहरूले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरूको पनि चर्को आलोचना गरे । यसपल्ट सडक बनाउन प्रतिबद्धता नगर्ने उम्मेदवारलाई भोटै नदिने स्थानीय नीरज मिश्रले बताए ।

‘वर्षौंदेखि अलपत्र र जीर्ण सडकको मार हामी जनताले खेपिरहेका छौं, तर जनप्रतिनिधिलाई कहिल्यै मतलबै भएन,’ उनले भने, ‘यस कारण चुनावको मुखमा दबाब दिन आन्दोलनमा उत्रेका हौं, सडक निर्माणको प्रतिबद्धता र पहल नगर्ने नेता, जनप्रतिनिधि तथा उम्मेदवारहरूलाई बहिष्कार नै गर्छौं, यसपाला मत पनि हाल्दैनौं ।’

बिहीबार बिहान ६ बजे टायर बालेर सुरु भएको चक्काजाम अपराह्न मात्र खोलिएको थियो । सडक कालोपत्र गर्न ठेक्का पाएका ठेकेदारका प्रतिनिधिले शुक्रबारबाट काम सुरु गर्ने प्रतिबद्धता जनाएपछि मात्र आवागमन सञ्चालन भएको हो । चक्काजाम स्थलमा धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

यो क्षेत्र सर्लाही–२ मा पर्छ । यहाँ सत्ता गठबन्धनबाट माओवादीको चुनाव चिह्न लिएर नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव उम्मेदवार छन् । त्यस्तै, सत्ता गठबन्धनबाट लोसपाका राजेन्द्र महतो र एमाले–जसपा गठबन्धनबाट एमालेका राजनारायण साह पनि मैदानमा छन् । हुलाकी सडकले सदरमुकाम मलंगवासहित भारतीय सीमानजिकका ५० ग्रामीण बस्तीलाई छुन्छ । पूर्वमा महोत्तरी तथा पश्चिममा रौतहटमा हुलाकी सडक कालोपत्र भइसक्दा सर्लाहीमा पर्ने ४०.२३ किलोमिटर खण्डको अधिकांश भागको अवस्था दयनीय छ ।

केही स्थानमा मात्र कालोपत्र भएको छ । ठेकेदारले ठेक्का पाएको अवधिभर केही कामै नगरेको स्थानीयको गुनासो छ । जिल्लाको पूर्व संग्रमपुरदेखि पश्चिम बलरासम्मको हुलाकी सडकको कालोपत्र गर्न ३ प्याकेजमा ठेक्का भएको थियो । ०७३ सालमा भएको सम्झौतामा निर्माण ५ वर्षभित्र सक्ने उल्लेख छ । ठेक्का अवधि सकिइसक्दा सडकको अधिकांश भाग जीर्ण छ । ६४ करोड रुपैयाँमा ठेक्का लागेकामा हालसम्म ठेकेदारले आधाभन्दा बढी रकम पनि बुझिसकेका छन् ।

‘हामीले बाल्यकालदेखि देखेको सडक जस्ताको त्यस्तै छ, सडकमा धूलो र हिलो हट्न सकेको छैन,’ नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीले भने, ‘जनप्रतिनिधि जो आए पनि जनताको दुःखकष्टमा मलम लगाउने प्रयास नै हुन सकेको देखिएन ।’ गोडैता नगरपालिकाका उज्ज्वलकुमार झाले पनि प्रत्येक निर्वाचनमा सडक कालोपत्र गर्न जनतालाई आश्वासन बाँडेका दलले काम पूरा गर्न पहल नै नगरेको गुनासो गरे ।

प्रजिअ स्थानेश्वर गौतमका अनुसार मलंगवादेखि पूर्वतर्फको खण्डमा सुस्त गतिमा काम भइरहेको छ । स्थानीयको विरोधका कारण सडकको आधार तयार गरिए पनि कालोपत्र भएको छैन । सडकको रेखांकन चित्त नबुझेको भन्दै स्थानीयले अदालतबाट ‘स्टे अर्डर’ ल्याएपछि काममा बाधा पुगिरहेको उनले दाबी गरे ।

‘सदरमुकामभन्दा पश्चिमतर्फ प्राविधिक कठिनाइका कारण काम हुन नसकेको ठेकेदारले जनाएका छन्,’ उनले भने, ‘शुक्रबारदेखि काम सुरु हुने जानकारी पाएको छु ।’ कालोपत्र गर्न ठेकेदारको मात्र दोष नरहेको भन्दै कतै राजनीतिक दल त कतै स्थानीयले नै सडक बनाउन अवरोध गरिरहेको उनको आरोप छ ।इकान्तीपुरवाट

प्रतिक्रिया

सम्बन्धित खवर