मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले पाल्पाका उम्मेदवारहरु मत माग्न जनताको घरदैलोमा पुगिरहेका छन् । उम्मेदवारहरुले मतदाता सामु आफ्नो पार्टीको घोषणा पत्र सहित स्थानीय समुदायको गुनासा र समस्याहरुलाई टिपोट गर्दै आफूहरुले उक्त समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
पाल्पा क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायण प्रसाद आचार्य बिहीवार रामपुर नगरपालिकाका विभिन्न वडाका मतदाताहरुलाई भेट्न व्यस्त रहनुभयो । मतदाताहरु सामु आफ्नो प्रतिबद्धता वयक्त गर्दै उम्मेदवार आचार्यले पूर्वी पाल्पा आफैमा पनि धेरै क्षेत्रमा सम्भावना बोकेको क्षेत्र भएकोले यहाँको कृषि, पशुपालन तथा यवा उद्यमशीलताका लागि आफूले विगतदेखि नै पहल गर्दै आएको र आगामी दिन थप पहल गर्ने बताउनुभयो । उहाँले बाह्रै महिना चल्ने मोटरबाटोको बिस्तार, सहज स्वास्थ्य सुविधा, सबै वडाहरु र टोल टोलसम्म टेलिकम सेवा सहित इन्टरनेटको पहँुच बृद्धिका लागि आफ्नो भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।
त्यस्तै पाल्पा क्षेत्र २ प्रतिनिधिसभाका उम्मेदवार ठाकुर गैरे केही दिन देखि रैनादेवी छहराका विभिन्न वडाहरुमा घरदैलो तथा भेटघाटमा व्यस्त हुनुहुन्छ । छहराबासीहरुसँगको भेटघाटका क्रममा उम्मेदवार गैरेले यसअघिका निर्वाचनमा पटक पटक जितेर पनि जनताको पक्षमा केही गर्न नसकेका व्यक्तिहरुबाट आजित मतदाताहरुले अहिले एमालेले नयाँ र युवा उम्मेदवारहरुलाई अगाडि बढाउँदा मतदाताहरु पनि खुशी भएको बताउनुभयो ।
उहाँले आफू यसअघि कुनै संसदीय निर्वाचनमा सहभागी नभएको पहिलो पटक उम्मेदवार बनेकोले पनि आम मतदाताहरुले विश्वास गरि निर्वाचित गराउनेमा विशस्त रहेको बताउनुभयो ।
पाल्पा क्षेत्र नं.१ (१) का प्रदेशसभा सदस्यका उम्मेदवार राजुप्रसाद श्रेष्ठ पनि मतदाताहरु भेट्न घरदैलोमै व्यस्त रहनुभएको छ । श्रेष्ठले रामपुर क्षेत्रमा रहेको खानेपानी स्वास्थ शिक्षा मोटरबाटो पुल निर्माण तथा विद्यतुीकरण लागयतका विषयमा मतदाताहरुकै सुझाव बमोजिम काम गर्ने प्रतिबद्धता जनाउनुभयो । क्षेत्र नं. १ (२) का उम्मेदवार खेम बहादुर सारु पनि माथागढी ५ हात्तीलुङका टोलहरुमा घरदैलोमा व्यस्त रहनुभयो । मतदाताहरुसँगको भेटघाटमा उम्मेदवार सारुले यस क्षेत्रमा अहिले पनि सूचना तथा सञ्चार सेवा पूर्ण नभएको नेपाल टेलिकमको नेटवर्क समेत राम्रो नदेखाउने भएकोले उक्त समस्या समाधानका लागि आफ्नो प्रमुख भूमिका रहने बताउनुभयो । मतदाताहरुले उम्मेदवार सारुलाई सुझाव समेत दिएका छन् ।

मतदाताहरुले विकास निर्माणको काम मिहिन रुपमा लैजानुपर्ने । विकासमा राननीति गर्न नहुने समेत सुझाव दिए । उम्मेदवार सारुले आफू पहिलो पटक उम्मेदवार भएकोले निर्वाचित भएपछि जनभावना अनुसार नै काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
पाल्पा क्षेत्र नं. २(१) का प्रदेशसभा सदस्यका उम्मेदवार परशुराम भट्टराई तानसेन नगरपालिका वडा नं. १३ छर्लुङका मतदाताहरुसँगको भेटघाटमा व्यस्त रहनुभयो । उहाँले मतदाताहरु सामु छेर्लुङको सबै राम्रो सम्भावना भनेकै कृषि तथा पशुपालन रहेकोले यस क्षेत्रलाई कृषि पशुपालनको पकेटक्षेत्र बनाई स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो । “छेर्लुङका बोटे जातिहरुको उन्नयनका लागि ठोस कार्यक्रम बनाउँछौ, करिडोर पूर्ण सञ्चालनमा आएपछि यो गाउँले फड्को मार्छ ।” उहाँले भन्नुभयो । तत्कालीन अर्गली गाविसका पूर्व अध्यक्ष समेत रहनुभएका भट्टराई यस क्षेत्रका लोकप्रिय नेता समेत हुनुहुन्छ ।
पाल्पा क्षेत्र नं. २ (२)का प्रदेशसभा सदस्यका उम्मेदवार ओमबहादुर घर्ती पनि बिहीवार रैनादेवी छहराका विभिन्न वडाहरुमा घरदैलोमा व्यस्त रहनुभयो । तिनाउँ गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहनुभएका घर्तीले पश्चिम पाल्पालाई अम्लिसो, दालचिनीको पकेट क्षेत्र बनाई यहाँका किसानहरुलाई उद्यमशील बनाउनेमा आफू लागिपर्ने बताउनुभयो । कुरिलो, अकवरे खुर्सानी, अदुवाको पकेट क्षेत्र बनाई किसानहरुलाई थप व्यवसायिक बनाउन पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर