
बिराटनगर / युरोपेली च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ।
समूह जी को खेलमा एफसी कोपेनहेगनको मैदानमा गएराति भएको खेलमा सिटी पहिलो हाफमै १० खेलाडीमा सिमित हुँदा खेल गोलरहित बराबरीमा रोकिएको हो।
सिटीले बल पोजिसनमा पकड राख्दै केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा बराबरीमा चित्त बुझायो।
खेलको २५ औं मिनेटमा सिटीले पेनाल्टी पायो। तर माहरेजको प्रहार कोपेनहेगनका गोलरक्षक ग्रबराले बचाएका थिए।
यस्तै खेलको ३० औं मिनेटमा विपक्षी खेलाडीलाई गोल गर्ने अवसरबाट हातले तान्दै रोकेपछि रेफ्रीले सिटीका डिफेन्डर सर्जी गोमेजलाई रातो कार्ड दिएर मैदान बाहिर पठाएका थिए।
दोस्रो हाफमा पनि केही राम्रा अवसर सिटीले खेर फाल्यो।
यो बराबरीसँगै सिटी ४ खेलमा १० अंकसहित अंक तालिकाको शीर्ष स्थानमा कायमै छ। अपराजित रहेको सिटीले यसअघि तीनै खेलमा जित हासिल गरेको थियो।
च्याम्पियन्स लिग अन्तर्गत यसअघि ३ खेलमा ५ गोल गरेका हालान्ड गएराती बेन्चमै बसेका थिए।