
बिराटनगर / आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा नाम चलेका उम्मेदवारहरुबीच रोचक भिडन्त हुने भएको छ । राजनीतिक दल तथा स्वतन्त्रबाट नाम चलेका उम्मेदवार हरुको जमघटका कारण पनि यो निर्वाचन क्षेत्र सर्वाधिक चासोको क्षेत्र बनेको छ ।
गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह नेपाली कांग्रेसबाट यो पटक पनि यस क्षेत्रबाट उम्मेदवार बनेका छन् । यस्तै अघिल्लो चुनावमा उनका निकटम प्रतिस्पर्धी रहेका रविन्द्र मिश्र विवेकशील साझा त्यागेर राप्रपाबाट उम्मेदवार बनेका छन् ।
यस्तै नेपाल प्रहरीका पूर्व डीआइजी रमेश खरेलले पनि यही क्षेत्रबाट उम्मेदवारी दिएका छन् भने स्वतन्त्र उम्मेदवार पुकार बमले पनि उम्मेदवारी दिएका छन् । बमले ६ महिना अघि नै काठमाडौं क्षेत्र नम्बर १ का लागि उम्मेदवारी घोषणा गरेर चुनावी तयारी थालेका थिए । यस्तै नेकपा एमालेले युवा संघ नेपालका पूर्व अध्यक्ष किरण पौडेललाई उम्मेदवार बनाएको छ भने अन्य केही स्वतन्त्र उम्मेदवारी परेको छ ।
यी हुन् क्षेत्र नम्बर १ का चर्चित उम्मेदवार
प्रकाशमान सिंह (कांग्रेस)
प्रजातान्त्रिक योद्धा गणेशमान सिंहका छोरा प्रकाशमान सिंहले यो पटकको चुनावमा पनि काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् । उनले २०६४ सालदेखि लगातार यो क्षेत्रमा चुनाव जित्दै आएका छन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादीको वाम गठबन्धनका बाबजुद उनले जित हासिल गरेका थिए । त्यतिबेला उनले वाम गठबन्धनका अनिल शर्मा र विवेकशील साझाका तत्कालीन उम्मेदवार रविन्द्र मिश्रलाई पराजित गरेका थिए ।
मिश्रले अघिल्लो चुनावमा सिंहलाई यो क्षेत्रमा कडा टक्कर दिएका थिए । यो पटक सिंह माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको सहयोगमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
रविन्द्र मिश्र (राप्रपा)
यसअघिको प्रतिनिधिसभा निर्वाचनमा विवेकशील साझा पार्टीबाट उम्मेदवार भएर प्रकाशमान सिंहलाई कडा टक्कर दिएका रविन्द्र मिश्र फेरि सोही क्षेत्रबाट सिंहसँगै प्रतिस्पर्धीका रुपमा चुनावी मैदानमा उत्रिएका छन् । यसपटक मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन् । राप्रपाले केही सिटमा एमालेसँग तालमेल गरेको अवस्थामा काठमाठौं क्षेत्र नम्बर १ मा मिश्रले एमालेको साथ खोजेका थिए । तर एमालेले किरण पौडेललाई उम्मेदवार बनाएर उनलाई साथ नदिने भएको छ ।
२०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा प्रकाशमान सिंह १० हजार ९ सय ३६ मत पाएर निर्वाचित हुँदा मिश्र ८ सय १८ मतान्तरले पराजित हुन पुगेका थिए । उनले १० हजार १ सय १८ मत पाएका थिए ।
यो पटक उनी काठमाडौं क्षेत्र नम्बर १ का मतदातालाई आफूले लेखेको पुस्तक ‘विचारभन्दा माथि देश’ वितरण गर्दै भोट माग्ने काममा जुटिसकेका छन् ।
रमेश खरेल (नेपाल सुशासन पार्टी)
विगतमा नेपाल प्रहरीमा राम्रो छवि बनाएका पूर्व डीआइजी रमेश खरेल पनि काठमाडौं क्षेत्र नम्बर १ को चुनावी मैदानमा छन् । नेपाल सुशासन पार्टीका अध्यक्ष रहेका खरेलले पहिलो पटक आफ्नो जनमत जाँच गर्न लागेका हुन् । गत स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा गठन भएको उनको पार्टीले स्थानीय चुनावमा सक्रिय सहभागिता जनाएन । यद्यपि प्रहरी संगठनमा रहँदा हासिल गरेको लोकप्रियतालाई उनले यो चुनावमा परीक्षण गर्दैछन् । खरेल सोही क्षेत्रको स्थायी बासिन्दासमेत हुन् ।
पुकार बम (राष्ट्रिय स्वतन्त्र पार्टी)
गत जेठ महिनामै पुकार बमले काठमाडौंं क्षेत्र नम्बर १ का लागि उम्मेदवारी घोषणा गरेका थिए । उनी तत्कालीन विवेकशील नेपाली दलका संस्थापकमध्ये एक हुन् । राजनीतिक तथा सामाजिक अभियन्ता रहेका बम डा.गोविन्द केसीले गर्ने आमरण अनसन अभियानका सहयोगीसमेत हुन् । हाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा आएका उनको पनि पहिलो पटक जनमत परीक्षण हुँदैछ । गत जेठदेखि नै चुनावी अभियान थालेका उनले उम्मेदवारी दिएसँगै चुनावी प्रचारको अभियानलाई अगाडि बढाएका छन् ।
किरण पौडेल (एमाले)
काठमाडौं क्षेत्र नम्बर १ मा एमालेले आफ्नो भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष किरण पौडेललाई उम्मेदवार बनाएको छ । २०७८ जेठदेखि केही समय उनले युवा संघ नेपालको नेतृत्व सम्हालेका थिए । एमालेका युवा नेताका रुपमा रहेका पौडेल पहिलो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका हुन् ।
काठमाडौं–१ मा यस्तो थियो स्थानीय तहको मत परिणामको अवस्था
काठमाडौँ क्षेत्र नम्बर १ मा काठमाडौं महानगरपालिकाका ४ वटा वडा पर्छन् । महानगरको वडा नम्बर १०, ११, २९ र ३१ यो निर्वाचन क्षेत्रमा समेटिएको छ । यो क्षेत्रमा पुरानो बानेश्वर, नयाँ बानेश्वर, बुद्धनगर, शान्तिनगर, मीनभवन, शंखमुल, मैतीदेवी, अनामनगर, त्रिपुरेश्वर, डिल्लीबजार, थापाथली, माइतीघर, भोटेबहाल लगायतका क्षेत्र पर्दछन् ।
गत स्थानीय तहको निर्वाचनमा काठमाडौं क्षेत्र नं १ भित्रका वडामा कांग्रेसले सर्वाधिक मत पाएको थियो । ४ वटा वडामा पाएको मतका आधारमा कांग्रेसले ९ हजार ८९५, दोस्रो स्थानमा एमालेले ९ हजार ५४१, तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ३७६ र चौथो स्थानमा रहेको माओवादी केन्द्रले १ हजार १७७ मत पाएको थियो ।
आगामी निर्वाचनमा जित हासिल गर्नका लागि उम्मेदवारहरु यतिबेला आन्तरिक तयारीमा जुटिरहेका छन् ।