
बिराटनगर / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा- २ बाट उम्मेदवार बन्ने भएका छन् । माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रचण्डले गोरखा- २ बाट निर्वाचन लड्ने निर्णय गरेको एक पदाधिकारीले बताए ।
उनी यसअघि चितवन- ३ बाट निर्वाचित भएका थिए । अहिलेसम्म तीनवटा संसदीय निर्वाचन लडेका प्रचण्डले प्रत्येकपटक क्षेत्र फेरेका छन् ।
काठमाडौं- १० बाट दोहोर्याएर लड्दा उनी पराजित भएका थिए । २०६४ मा रोल्पा- २ र काठमाडौं- १० बाट निर्वाचन जितेका प्रचण्डले २०७० को निर्वाचनमा काठमाडौं- १० बाट हारेका थिए भने सिरहा- ५ बाट झिनो अन्तरले जितेका थिए ।
२०७४ मा चितवन- ३ बाट निर्वाचित प्रचण्डले यसपटक गोरखा रोजेसँगै उनी चार चुनावमा चार क्षेत्रबाट निर्वाचन लड्ने नेता हुनेछन्।
गोरखाका माओवादी नेता-कार्यकर्ता र जनप्रतिनिधिले प्रचण्डलाई भेटेर चितवनभन्दा गोरखा धेरै सुरक्षित रहेको र जित्नलाई धेरै मेहनत पनि गर्न नपर्ने हुँदा देशभर समय दिन पाइने तर्क गरेका थिए ।
आफूलाई भेट्न आएका चितवनका कांग्रेस र माओवादी नेता-कार्यकर्तासँग कुरा गर्दै प्रचण्डले आफूले जस्तो निर्णय पनि लिन सक्ने जवाफ दिएका थिए ।
चितवनदेखि आफूलाई भेट्न आएका गठबन्धनका नेता-कार्यकर्तालाई प्रचण्डले प्रत्येक निर्वाचनमा फरकफरक क्षेत्रबाट लडेकाले यसपटक अन्त जान पनि सक्ने भनेका थिए ।
‘हरेकपटक निर्वाचन क्षेत्र फेर्न सक्ने भएर नै प्रचण्ड भएको हो,’ उनको भनाइ उद्धृत गर्दै एक माओवादी नेताले भनेका थिए ।