नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधानको संरक्षकबाट संविधान मिचिएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधानको पालक र संरक्षकले नै खुलेआम संविधान मिच्ने काम गरेको बताएका हुन् ।

उहाँले संरक्षकबाट नै जानिबुझी संविधान मिच्नु सामान्य कुरा नभएको भन्दै प्राप्त भएका उपलब्धिहरू खोस्ने षड्यन्त्रको रूपमा रहेको टिप्पणी गरे। ‘अहिले संविधान खुलेआम मिच्ने, संविधानको पालक र संरक्षकबाट नै जानिबुझी, नजानेर, झुक्किएर भन्ने होइन । जानिबुझी संविधान मिच्ने जो काम भएको छ । यो सामान्य होइन,’ उनले भने, ‘यो हजारौँको बलिदानबाट, लाखौँलाख किसानहरूको, मजदुरहरू, पीडितहरूको आन्दोलनबाट प्राप्त भएका उपलब्धि खोस्ने, अपहरण गर्ने षडयन्त्रकै एउटा कडी हो । यसलाई रोक्न अरू कसैले सक्दैन । जनताले र परिवर्तनकारी शक्तिहरूको एकताले मात्रै, जनताको पहलले मात्रै यो रोकिन सक्छ ।’

अध्यक्ष प्रचण्डले देशमा प्रतिगमनको षड्यन्त्र गत वर्षदेखि सुरु भएको उल्लेख गर्दै हालसम्म नरोकिएको बताए । उनले आफूहरूले सतर्कता गुमाएमा तथा एकतालाई कमजोर पारेमा कुनै पनि दिन प्रतिगमन हुनसक्ने खतरा रहेको बताए ।

‘म भन्न चाहन्छु कुरा धेरै गहिरो छ । कुरा धेरै नै गहिरो छ । जुन प्रतिगमनको षड्यन्त्र गत सालदेखि सुरु भएको छ । त्यो रोकिएको छैन । त्यो नयाँ–नयाँ रूपमा फेरि अगाडी ल्याउने जमर्को भइराखेको छ,’ प्रचण्डले भने, ‘हामीले आफ्नो सतर्कता गुमायौँ भने, हामीले हामी भित्रको एकतालाई कमजोर हुन दियौँ भने, हामीले आम किसानहरू, मजदुरहरू, सुकुम्वासीहरू, सम्पूर्ण उत्पीडित वर्ग, समुदायलाई आन्दोलित गरिराख्ने, जागरूक गरिराख्ने, सङ्गठित गरिराख्ने आफ्नो अभियानलाई रोक्यौँ भने कुनै पनि दिन प्रतिगमन हुनसक्ने खतरा छ । मैले यो कुरा अमूर्त कुरा गरेको होइन । मैले मूर्त रूपमा भन्दै छु ।’

अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेकोप्रति असन्तुष्टि व्यक्त गरे । विधेयक प्रमाणीकरण नगरेर संविधान र परिवर्तनमाथि प्रहार भएको उनको भनाइ छ । उनले प्रतिगमनको फणाहरू उठेको भन्दै परिवर्तनको रक्षाका लागि सडकमा जानुपर्ने आवश्यकता रहेको बताए ।

‘नागरिकता विधेयक जन्मसिद्ध नागरिक भएका आमा बाबुका छोराछोरीहरूले नागरिकता प्राप्त गर्नुपर्छ भन्ने विधेयकलाई प्रमाणीकरण नगर्ने कसरतभित्र पनि यो संविधान र यो परिवर्तनलाई कहीँ न कहीँ यसमाथि प्रहार गर्ने नियोजित प्रयासहरू भइराखेका छन्,’ उनले भने, ‘सबै एकजुट भएर आवाज नउठाउने हो भने सडकमा नजाने हो भने प्रतिगमनका यी फणाहरू अहिले जो फेरि उठ्न थालेका छन्, त्यसले डस्न सक्छ परिवर्तनलाई । त्यसको रक्षाको लागि एकताबद्ध भएर अगाडी बढ्ने आजको लागि ज्वलन्त आवश्यकता हो ।’

उनले एक थरी मानिसहरूले प्रचण्ड सिद्धियोस् भनेर रातदिन धूप हालेर बसेका बताए । प्रचण्ड अस्थिरताको कारण हो भन्ने प्रचार गरिएको भन्दै सो प्रचार पनि प्राप्त राजनीतिक उपलब्धिहरू उल्ट्याउने षड्यन्त्रको रूपमा उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर