काठमाडौं : भारतलाई हराउँदै नेपाल छैटौं महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ। शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सेमिफाइनल खेलमा नेपालले भारतलाई १-० गोलले पराजित गरेको हो।

नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गरेकी थिइन्। उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेकी थिइन्।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यसअघि पहिलो सेमिफाइनल खेलमा भुटानलाई हराउँदै बंगलादेश फाइनलमा पुगेको छ। फाइनलमा नेपाल र बंगलादेश भिड्नेछ।

हजारौं समर्थकको बीचमा नेपाललाई जिताउन रश्मीकुमारी घिसिङले निर्णायक गोल गरिन् । पहिलो हाफको अन्तिम मिनेटमा प्रिती राईको पासमा उनले निर्णायक गोल गरिन् ।

यसअघि प्रिति राईले ३३ औं मिनेटमा डी बक्स बाहिरबाट हानेको भली प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

पहिलो हाफमा अग्रता लिएपछि दोश्रो हाफमा नेपालले सुरुवातदेखि नै भारतमाथि दबाब बनाउन थाल्यो । ५० मिनेटमा अनिता केसीको कर्नरमा अमृता जैशीले बक्स भित्रबाट हानेको हेडर भारतकी गोलकिपर अदिती चौहानले पञ्च गर्दै बाहिर फालिन् ।

६४ मिनेटमा प्रिति राईले बक्स भित्रबाट गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरिँदा नेपालले अग्रता दोब्बर बनाउने अवसर गुमायो ।

पाँच पटकको बिजेता भारतले पनि दोश्रो हाफमा गोलका लागि केही अवसर बनाए पनि फिनिसिङ गर्न सकेन ।

समूह चरणमा भुटानलाई ४-० र श्रीलंकालाई ६-० ले हराउँदा नेपालको डिफेन्स र गोलकिपिङ खासै टेष्ट भएको थिएन । तर भारत विरुद्ध भने नेपालको डिफेण्डर र गोलकिपरले कडा मिहिनेत पर्‍यो । कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले राम्रो बचाउ गरिन् ।

दोस्रो हाफमा गोल नथेपनि नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई खेलमा फर्किने अवसर दिएन ।

अब नेपालले उपाधिका लागि बंगलादेशसँग सोमबार खेल्नेछ । नेपाल फाइनलमा पुगेको भने पाँचौं पटक हो । यसअघि चार पटक नै नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।

२०१६ मा कुमार थापा प्रशिक्षक रहेकै बेला नेपाल सेमिफाइनलमा पराजित भएको थियो । त्यसपछि पहिलो पटक महिला टोलीको प्रशिक्षक बन्ने अवसर पाएका थापाले भारतसँग मिठो बदला पनि लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर