
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सबैका लागि बालअधिकार सुनिश्चित गर्न आवश्यक पहल गर्न आग्रह गरेकी छन्। राष्ट्रिय बाल दिवस, २०७९ को अवसरमा शुभकामना दिँदै उनले बालअधिकारको सम्बन्धमा विद्यमान संवैधानिक र कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएकी हुन्।
‘राज्यबाट संवैधानिक‚नीतिगत‚कानुनी र संस्थागत प्रयास हुँदाहुँदै कतिपय बालबालिकाहरू अझै पनि आफ्नो बाँच्न पाउने, संरक्षण पाउने, विकास र सहभागिताको आधारभूत अधिकारबाट बञ्चित हुनु परेको अवस्था कायमै रहेको छ।’ जारी शुभकामना सन्देशमा भनिएको छ,‘बालअधिकारको सम्बन्धमा विद्यमान संवैधानिक र कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्दै सबैका लागि बालअधिकार सुनिश्चित गर्न आवश्यक पहल गर्न म सम्बद्ध पक्षको ध्यान आकृष्ट गर्न चाहन्छु। ’
राष्ट्रपति भण्डारीले बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, बालअधिकारकर्मी, सामाजिक संघसंस्था, नागरिक समाज‚निजी क्षेत्रले निर्वाह गर्दै आएको भूमिकाका लागि धन्यवाद दिएकी छन्। उनले भनेकी छन्, ‘आजका बालबालिका नै भविष्यका कर्णधार भएकाले उनीहरूको उचित पालनपोषण‚शिक्षादीक्षाका साथै समग्र व्यक्तित्व विकासका लागि आवश्यक अवसर र सुविधाको व्यवस्था गर्न हामी सबैलाई राष्ट्रिय बाल दिवसले थप प्रेरणा प्रदान प्रदान गर्ने विश्वास व्यक्त गर्दछु।’
नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरी आवश्यक नीति‚कानुन र संस्थागत संरचनाहरू निर्माण गरेको शुभकामना सन्देशमा उल्लेख छ। बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक एवं कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न तीनै तहका सरकार‚गैरसरकारी संघसंस्था, नागरिक समाज, अभिभावक, विद्यालय लगायत अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिकाको आवश्यकता पर्ने उनको भनाई छ।
संयुक्त राष्ट्र संघीय बालअधिकारसम्बन्धी महासन्धिलाई नेपालले अनुमोदन गरेको दिनको स्मरण गर्दै बाल अधिकारको क्षेत्रमा नेपालले जनाएका अन्तर्राष्ट्रिय प्रतिबद्धता समेतलाई पूरा गर्न हामीले हरेक वर्ष भदौ २९ गते ‘राष्ट्रिय बाल दिवस’मनाउने गरिएको छ। यस वर्ष पनि बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने मूल विषयका साथ राष्ट्रिय बालदिवस विभिन्न रचनात्मक कार्यक्रमहरूको आयोजना गरी मनाइँदैछ।