कुनै समय एक घन्टा फुर्सद पाउनु पनि राजेश हमालका लागि ठूलो हुन्थ्यो । एउटै सेड्युलमा दुई-तीनवटासम्म फिल्मको छायांकन गर्थे उनी । तर, करिअरको उचाईंमा उनको जुन प्रकारको व्यस्तता थियो, अहिले पनि त्यस्तै छ । फिल्ममा काम नगरेको ४ वर्ष भए पनि उनको आम्दानी र व्यस्तता घटेको छैन । सांस्कृतिक कार्यक्रम, टीभी शो, म्यूजिक भिडियोमा उनलाई भ्याइनभ्याइ छ ।
‘सत्यम्’को निर्माण अनिश्चित बनेपछि हमालले गत साउनमा नयाँ फिल्म ‘मायाको माया’ साइन गर्दै कमब्याकको टुंगो लगाए । यो फिल्मको दुई साता वर्कसपमा बसेपछि उनी यसै साता श्रीमती मधु भट्टराईको साथमा दुबई भ्रमणमा निस्किएका छन् । त्यहाँ हुने एक सांस्कृतिक कार्यक्रममा भाग लिनका लागि उनी श्रीमती मधुसँग गएका हुन् । दुबईमा उनको बसाई एक हप्ता लामो हुनेछ ।
कुनै समय मोबाइल समेत नबोक्ने हमाल आजभोली आफ्नो दिनचर्यालाई फेसबुकमार्फत् देखाउँदै आएका छन् । उनले श्रीमतीसँग दुबई घुमघामका तस्विरहरु पनि फेसबुकमा राखेका छन् । तस्विरमा हमाल श्रीमतीसँग दुबईको सुन्दरतामा रमाइरहेका देखिन्छन् । दुबईबाट फर्केपछि उनी सद्गुरु जग्गी वासुदेवको अन्तर्वार्ता दिन भारत जानेछन् । त्यसपछि उनले फिल्मको सुटिङ थाल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर