बुटवलको जितगढीमा भएको युद्धमा अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको खुशियालीमा २०४औं ऐतिहासिक भगवती जात्रा आज शनिबार पाल्पाको तानसेनमा मनाइँदैछ ।

विसं १८७७ सालदेखि निरन्तर कृष्ण जन्माष्ठमीको भोलिपल्ट भगवतीको जात्रा हुँदै आएको छ । पाल्पाका तत्कालीन कर्णेल उजिर सिंह थापाले वि.सं १८७१ पुसदेखि १८७२ बैसाखसम्म भएको अंग्रेजसँगको युद्धमा बुटवलको जितगढीलगायतका क्षेत्रमा विजय हासिल गरेको थियो ।

सोही जितको सम्झनामा श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजन किर्तन गरेर भोलिपल्ट तानसेन भगवतीटोलमा रहेको रणउजीरेश्वरी भगवतीको मन्दिरबाट सिन्दूरजात्रा निकाल्ने परम्परा सुरु भएको हो ।

राति १२ बजे बली दिएर भगवतीको रथ उचालेर पुजापाठ समेत गरिन्छ । भगवती रथलाई सिन्दूर, अबिर र केशरीसहित अन्य वैदिक पुजापाठ गर्दै सहर परिक्रमा गराइन्छ ।

नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिर सिहं थापाले अंग्रेज फौजसँग बुटवलको जितगढीमा भएको लडाइमा युद्धमा जानु अघि थापाले युद्धमा जित भएमा मन्दिर बनाएर प्रत्येक वर्ष सिन्दूर जात्रा गर्ने भाकल गरेका र विजय पश्चात जात्रा मनाउन सुरु भएको इतिहासमा उल्लेख छ ।

पाँच वटा नाकाबाट नेपाल माथि भएको आक्रमणमा चार स्थानमा नेपालले हार बेहोर्नु परे पनि बुटवलको जितगढीको लडाइँमा अंग्रेज फौजलाई नेपाली फौजले हराएको थियो ।

कर्णेल उजीरसिंह थापाले विसं १८७२ मा निर्माण थालनी गरी विसं १८७६ मा तीन तले मन्दिरको निर्माण पूरा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर