कलाकार भएपछि फिल्मको पात्रलाई जीवन्त रुपमा निर्वाह गर्न सक्ने खुबी हुनुपर्छ र फरक चरित्रमा आफूलाई ‘एक्सपेरिमेन्ट’ गर्ने हिम्मत पनि गर्नुपर्छ । नयाँ छिमलका कलाकारहरु यसप्रति खासै गम्भीर देखिँदैनन् । एउटा चरित्रमा दर्शकले रुचाएपछि उनीहरु त्यसबाट मुक्त हुनै चाहँदैनन् । त्यसैले हरेक फिल्ममा उनीहरुको एकैखाले चरित्र र उस्तै अभिनय हुन्छ । फरकपन नै भेटिँदैन ।
तर, अभिनेत्री मलिका महतलाई प्रदर्शनरत फिल्म ‘पानीफोटो’मा हेरेपछि नयाँ पुस्ताका कलाकारहरु पात्रको मनोविज्ञान र नाडी समातेर पनि अभिनय गर्न सक्छन् भन्ने महशुस हुन्छ । डेब्यू फिल्म ‘यात्रा’मा दृष्टिविहीन गायिकाको भूमिकामा प्रशंसायोग्य अभिनय गरेकी उनले ‘पानीफोटो’मा धेरै माथि उठेर अभिनय गरेकी छन् । राधा पात्रमा उनले गरेको अभिनय स्वभाविक लाग्छ, मन छुन्छ ।
मलिकाले फिल्ममा स्याङ्जाको सामान्य युवतीको भूमिकामा अभिनय गरेकी छन् । सुकिलो-मुकिलो अनुहारकी उनलाई निर्देशक खगेन्द्र लामिछानेले गाउँले चरित्रमा जसरी ‘ट्रान्सफर्म’ गरेका छन्, त्यो दर्शकका लागि पनि एउटा सरप्राइज हो । जनयुद्धको समयमा बेपत्ता भएको प्रेमीको पखाईमा उनका थाकेका आँखाले प्रायः सिनमा संवाद नबोलेरै पनि मनछुने अभिनय गरेका छन् ।
फिल्ममा मलिका जतिबेला पनि छाइरहँदिनन् तर जतिबेला पर्दामा झुल्किन्छिन्, मनमा बस्छिन् । उनलाई खगेन्द्रले खासै संवाद दिएका छैनन् । तर, संवादविनै पनि उनले आँखाको भाव र हाउभाउबाट सशक्त अभिनय गरेकी छन् । फिल्म हेरेर निस्कँदै गर्दा अनुप बराल र मेनुका प्रधान झैँ उनी पनि आँखाबाट हट्दिनन् । यसको अर्थ, उनको अभिनयले राधा पात्रलाई जीवन दिएको छ ।
फिल्म ‘यात्रा’ र ‘फूलबुट्टे सारी’ जस्ता म्यूजिक भिडियोबाट लभर गर्लको रुपमा सम्भावना देखाएकी मलिकालाई अब ‘पानीफोटो’ले चरित्र बाँच्ने कलाकारको रुपमा पनि स्थापित गर्नेमा दुईमत छैन । आगामी दिनमा उनी फिल्म, पात्र छनोट र चरित्र निर्माणमा कति गम्भीर हुन्छिन्, त्यसले उनको भविष्यको रेखा कोर्नेछ । तर, अब उनलाई पात्र छनोटमा गम्भीर हुनुपर्ने चुनौती भने थपिएको छ ।