प्रदेश १ को १०औं एवं बजेट अधिवेशन सोमबारदेखि सुरु भएको छ। बैठकको पहिलो दिनमै सत्तापक्ष र प्रतिपक्षबीच सदनमा आरोप प्रत्यारोप चल्यो। प्रदेश प्रमुख पर्शुराम खापुङले आह्वान गरेको बैठकका बारेमा बिहान ११ बजे सभामुख प्रदीपकुमार भण्डारीले सदनलाई जानकारी गराएपछि अधिवेशन सुरु भएको हो।
स्थानीय निर्वाचनमा उम्मेदवार बन्न नेकपा (एमाले)का दुई जना प्रदेशसभा सदस्य काजीमान कागते र गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएको जानकारी पनि भण्डारीले गराए। बैठकमा प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका नेता भीम आचार्यले निर्वाचनबाट दलहरू सच्चिएर अघि बढ्नुपर्ने सुझाव जनताबाट आएको बताए।
निर्वाचनमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएको प्रसंगलाई जोड्दै प्रदेशको पूर्वमुख्यमन्त्रीसमेत रहेका आचार्यले दलहरूबाट भएको त्रुटिबारे समीक्षा गर्न आवश्यक रहेको बताए। ‘अहिले प्रदेश सरकारको औचित्य पुष्टि गर्न कठिन भइरहेको छ। प्रदेशमा विकास कसरी अघि बढिरहेको छ भनेर भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘गठबन्धन सरकार बनेको ७ महिना भइसक्दा पनि त्यसको अभाष हुन सकेन। सरकारको काम कारबाही प्रभावकारी नहुँदा जनताले प्रदेश सरकार आवश्यक छैन भनेर भन्न थालिसकेका छन्।’
प्रदेशमा आवश्यक स्रोतसाधन जुटाउन पनि सरकारले नसकेको आचार्यले बताए। नेपाली कांग्रेसका प्रमुख सचेतक सूयर्माराज राईले स्थानीय निर्वाचन सम्पन्न गरेर गठबन्धन सरकारले ठूलो जिम्मेवारी पूरा गरेको बताए। ‘प्रदेशको पहिलो कार्यकाल चीर कालसम्म सम्झन लायक बनाउनुपर्छ,’ उनले भने। राईले स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार विजयी बन्नुलाई लोकतन्त्रमा सबै विचार अटाउन सक्छन् भन्ने उदाहरणका रूपमा लिनुपर्ने दाबी गरे।
‘प्रदेश १ ले अहिलेसम्म नाम पाउन सकेको छैन। यो विषय कहाँ अड्किएको छ भनेर सबैलाई थाहा छ,’ उनले भने, ‘प्रदेशको नामकरणको विषयमा सत्ता र प्रतिपक्षको उत्तिकै भूमिका हुन्छ। साझा छलफलबाट प्रदेशको नाम तोकिनुपर्छ।’
बजेट कार्यान्वयनमुखी हुनुपर्नेमा जोड दिँदै उनले बजेटको औचित्य पुष्टि गर्न सक्नुपर्ने बताए। नेकपा (माओवादी केन्द्र)का धीरेन्द्र शर्माले इच्छाशक्ति भए राम्रो काम गर्न केहीले पनि नछेक्ने बताए। अहिलेको अधिवेशन प्रदेशको ५ बर्से कार्यकालको अन्तिम हुने भएकाले नामकरणको विषयलाई टुंगोमा पु¥याउनुपर्नेमा उनको जोड छ। त्यस्तै, जसपाका सांसद रामचन्द्र लिम्बूले बजेटको कार्यान्वयन पक्षलाई ध्यान दिँदै अब प्रदेश सरकारले गति बढाउनुपर्नेमा जोड दिए।