कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले आगामी दुई वर्षको अवधिमा कुनै पनि युवा सीपविहिन हुन नपर्ने बताउनुभएको छ ।
कालीगण्डकी गाउँपालिकामा आयोजित जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रममा बोल्दै थापाले कालीगण्डकी हरेक युवामा कुनै न कुनै व्यवसायिक सीप विकासको लागि तालिम प्रदान गरिने उल्लेख गर्नुभएको हो ।
पद तथा गोपनियताको सपथ खुवाउँदै अध्यक्ष थापाले कालीगण्डकी गाउँपालिका जनमुखी काम गर्ने स्याङ्जाको अन्य पालिकाभन्दा कम नभएको बताउनुभयो ।
थापाले विगतको कार्यकालमा धेरै कामहरु भएको उल्लेख गर्दै बाँकी कामहरुलाई यस कार्यकालमा पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।कालीगण्डकीका हरेक वडा कार्यालबाट गाउँपालिकाको कार्यालयसम्म आवागमनको लागि सडक निर्माण भएको,कालीगण्डकीमा मोटरेबल तथा झोलुङ्गे पुल निर्माण सकिएको लगायत पूर्वाधारका क्षेत्रमा उल्लेखनीय काम भएको स्पष्ट पार्नुभयो ।
स्वास्थ्यको प्रत्याभूति गर्न गाउँपालिकाले हरेक नागरिकको निःशूल्क स्वास्थ्यबीमा गरेको बताउँदै अध्यक्ष थापाले गाउँपालिकाबासीको लागि आधारभूत न्यूनतम विद्युत महशूल गाउँपालिकाले नै भुक्तानी दिने व्यवस्था गरेको बताउनुभयो ।
युवास्वरोजगारको कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै आगामी दुई वर्षमा कालीगण्डकी गाउँपालिकामा कुनै पनि युवा सीप विहिन हुन नपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोइरालाले विगतको कार्यकालमा बाँकी रहेका न्यायिक क्षेत्रका कामहरु, महिला सशक्तिकरण तथा युवा स्वरोजगारका कार्यक्रमहरुलाई पूर्णता दिने उल्लेख गर्नुभयो ।
कालीगण्डकी गाउँपालिकाका जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।
बिहिबार कालगिण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलसँग सपथ लिएपछि आफ्नो पालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई सपथ खुवाउनुभएको हो ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ मा कालीगण्डकी गाउँपालिकामा नेकपा एमालेले बहुमत सहित जीत हासिल गरेको छ ।
गाउँपालिकाको अध्यक्षमा खिम बहादुर थापा पुनः दोहोरिनुभएको छ । उपाध्यक्ष पदमा पनि सावित्रा कोइरालाको पुनरागमन भएको छ ।कार्यक्रममा निवर्तमान जनप्रतिनिधिहरुलाई बिदाई तथा नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।