कैलाली । केन्द्रीय स्तरमा पाँच दलीय गठबन्धन गर्ने सहमति भए पनि सुदूरपश्चिम प्रदेशमा भने बहुसंख्यक पालिकामा तालमेल टुटेको छ ।

यहाँका ८८ स्थानीय तहमध्ये केहीमा माओवादी कांग्रेस, केहीमा माओवादी एकीकृत समाजवादी, केहीमा एकीकृत समाजवादी नेपाली कांग्रेस र केहीमा माओवादी एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच तालमेल भएको हो । तर, उनीहरूबीच पनि सहमति अनुसार उम्मेदवारी दर्ता भने भएको छैन ।

कैलालीमा तीन दलीय सहमति गर्नुभन्दा अघि नै लम्की चुहा नगरपालिका र टीकापुर नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले तालमेल गर्ने निर्णय गरेका थिए । तर, प्रदेशस्तरीय गठबन्धनको बैठकले तीन दलीय तामेल गर्ने निर्णय गरे पनि उनीहरू दबाबमा परेका थिए ।

उनीहरूको सहमति अनुसार कैलालीका १३ स्थानीय तहमा धनगढी उपमहानगरपालिका सहित ७ पालिका माओवादी केन्द्रले ४ पालिका र एकीकृत समाजवादीले २ पालिका पाउने सहमति गरेका थिए । तर, सहमति भन्दा बाहिर गएर अधिकांश पालिकामा तीनै दलले प्रमुख उपप्रमुख तथा वडाध्यक्षहरूमा उम्मेदवारी दर्ता गरेका थिए ।

मनोनयन दर्ताका क्रममा नेपाली कांग्रेसले प्रमुख पाएका लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकामा सहमति तोड्दै माओवादी केन्द्रले पनि उम्मेदवारी दिएको छ ।

९ स्थानीय तह रहेको कञ्चनपुरमा सत्तारुढ गठबन्धनभित्र माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको छुट्टै गठबन्धन बनाए भने नेपाली कांग्रेसले सबै पालिकामा एकल उम्मेदवारी दिएको छ ।

बैतडी जिल्लामा गठबन्धनका दलहरूले स्थानीय अनुकूलता अनुसार उम्मेदवारी दिएका छन् ।

जसअनुसार तीन वटा पालिकामा तीन वटै दलको सहमति छ भने एकाएक पालिकामा दुई/दुई वटाले तालमेल गरेका छन् ।

दार्चुलामा सत्तारुढ गठबन्धनका दुई दल कांग्रेस र माओवादी केन्द्रले मात्रै तालमेल गरेका छन् । तालमेल गरेकामध्ये कांग्रेसले ५ वटा र माओवादी केन्द्रले ४ वटा पालिकामा उम्मेदवारी दिएका छन् ।

डडेलधुराका दुई वटा गाउँपालिकामा मात्रै माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गरेका छन् ।

१० वटा स्थानीय तह रहेको अछाममा भने पाँच पालिकामा दुई दलीय गठबन्धन भएको छ । अन्यमा सबैले छुट्टाछुट्टै उम्मेदवारी दर्ता   गरेका छन् ।

डोटीमा पनि गठबन्धनका दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादीको मात्रै तालमेल भयो । बाँकी दलहरूले एक्ला एक्लै उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लाका ९ वटा स्थानीय तह रहेको डोटीमा माओवादी केन्द्रले ५ र एकीकृत समाजवादी पार्टीले ४ वटा पालिकामा भागबन्डा गरेका छन् ।

बाजुराका ९ पालिकामध्ये स्वामिकात्तिक र जगन्नाथ गाउँपालिका बाहेक अन्य स्थानीय तहमा गठबन्धनका दलले एकल उम्मेदवारी दिएका   छन् ।

बझाङका सबै पालिकामा गठबन्धनका संयुक्त उम्मेदवार छन् भने प्रायः पालिकामा बागी उम्मेदवारी परेका छन् । जिल्लाका १२ वटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले ७ वटा पालिका, एकीकृत समाजवादीले ३ र माओवादी केन्द्रले २ पालिकामा प्रमुख तथा अध्यक्षका उम्मेदवार उठाएको छ ।

सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तह मध्ये २३ पालिकामा मात्रै तालमेल भएको छ । अन्य स्थानीय तहमा भने मित्रवत् प्रतिस्पर्धा हुने भएको हो ।

प्रदेश स्तरमा गरिएको सहमति अनुसार जिल्लामा तालमेल गर्ने र नभएको स्थानमा मित्रवत् प्रतिस्पर्धा हुने नेपाली कांग्रेसमा प्रदेश सभापति वीर बहादुर बलायरले जानकारी दिए ।

‘तालमेल हुने भनिएका जिल्लाहरूमा तालमेल हुन्छ । नभएको स्थानमा मित्रवत् प्रतिस्पर्धा हुन्छ’ उनले भने ‘तालमेल हुने सहमति भएका पालिकामा पनि आ–आफ्नो दलबाट उम्मेदवारी दिएको पाइएको छ । ती फिर्ता गर्ने प्रयास भइरहेको छ ।’

पालिका प्रमुख र उपप्रमुखमा सहमति अनुसार अघि बढ्ने तयारी भइरहेको भए पनि वडा स्तरमा भने मित्रवत् प्रतिस्पर्धाको सम्भावना बढी रहेको बताए ।

एकीकृत समाजवादीका प्रदेश सचिव दिनेश सुवेदीले पनि सुदूरपश्चिम प्रदेशमा केही स्थानमा दुई पक्षीय र केहीमा त्रिपक्षीय गठबन्धन भएको जानकारी दिए ।

उनका अनुसार गठबन्धन नभएका पालिकाहरूमा मित्रवत् प्रतिस्पर्धाको तयारी भइरहेको छ ।

माओवादी केन्द्रका प्रदेश इन्चार्ज खगराज भट्ट पनि तालमेल भएका पालिकाहरूमा तालमेल गर्ने र तालमेल हुन नसकेका पालिकाहरूमा स्वच्छ र निष्पक्ष प्रतिस्पर्धा गर्ने सहमति भएको बताए ।नेपालप्रेसबाट

प्रतिक्रिया

सम्बन्धित खवर