पत्रपत्रिका
कान्तीपुर दैनिक

काठमाडौँ — स्थानीय तह निर्वाचनका लागि भएको मनोनयनका क्रममा मुस्ताङमा १८, गोरखामा ७, डोल्पामा ५, ताप्लेजुङमा ५ र मनाङमा ५ पदमा एकल उम्मेदवारी परेको छ । आवश्यक पद संख्या जति मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध भए पनि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र घोषणा हुनेछ ।

 

डोल्पाका तीन पालिकाहरू छार्का ताङसोङ, काइके र शे फोक्सुन्डोमा अध्यक्ष र तीमध्येकै दुई पालिकामा उपाध्यक्षमा एकल उम्मेदवारी परेको छ । छार्का ताङसाङ गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका सेनाङ गुरुङ र उपाध्यक्षमा एमालेका कार्मा सिन्दुल गुरुङको मात्र उम्मेदवारी परेको छ । एमाले र एकीकृत समाजवादीबीच केन्द्रमा पानी बाराबारको अवस्था भए पनि छार्कातोन्साङमा दुई दलका नेताले मिलेर सर्वसम्मत हुने वातावरण बनाएका हुन् । ‘जनताको मन जितेर राजनीति गर्ने हो,’ गुरुङले भने । उनी गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर अध्यक्षमा विजयी भएका थिए ।

काइके गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका अंगत राना र उपाध्यक्षमा कांग्रेसका लिमी रोका तथा शेफोक्सुन्डो गाउँपालिका अध्यक्षमा एमालेका धावा छन्दुक गुरुङको एकल उम्मेदवारी परेको छ । डोल्पाका मुख्य निर्वाचन अधिकृत केशव चपार्इंले ५ जना अध्यक्ष–उपाध्यक्षको एकल उम्मेदवारी परेको जानकारी आए पनि मंगलबारसम्म विवरण रुजु गरेपछि मात्र आधिकारिक रूपमा भन्न सकिने बताए । उपल्लो डोल्पामा शेफोक्सुन्डो, छार्कातोन्साङ र डोल्पोबुद्ध गरी ३ गाउँपालिका छन् । स्थानीय तहको गत निर्वाचनमा सेनाङसहित ३ जना अध्यक्ष र उपाध्यक्ष स्वतन्त्रबाट विजयी भएका थिए ।

उता ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाको निर्वाचन अधिकृतको कार्यालयमा सोमबार उम्मेदवारी दर्ता गर्न ७ जना मात्रै आए । उनीहरूमध्ये २ जना प्रस्तावक बसे भने अन्य पाँचले अध्यक्षसहितको पदमा एकल उम्मेदवारी दर्ता गराए । फक्ताङलुङका निर्वाचन अधिकृत राजकुमार दाहालका अनुसार वडाध्यक्षमा छेतेन लामा शेर्पाको मात्र उम्मेदवारी परेको छ । वडा सदस्यमा टाँसी शेर्पा र वाङया शेर्पा, महिला सदस्यमा फुपुल्हामु श्रेष्ठ र दलित महिला सदस्यमा विपना तुम्बाहाम्फे विश्वकर्माको उम्मेदवारी पर्‍यो । यी पाँचै जनाको प्रस्तावक बसे निवर्तमान वडाध्यक्ष छेतेन शेर्पा भोटे र समर्थक थिए दावा चुङ्दा शेर्पा । दाहालका अनुसार आवश्यक पद संख्या जति मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध भए पनि घोषणा आवश्यक प्रक्रिया पूरा भएपछि हुनेछ ।

३ सय ३६ मतदाता भएको यो वडामा कांग्रेस र एमाले गरी दुई पार्टीका कार्यकर्ता मात्रै छन् । २०७४ को निर्वाचनमा वडाध्यक्ष र सदस्यहरू कांग्रेसबाट निर्वाचित भएका थिए । छेतेन लामा शेर्पा भने वडाध्यक्षमा एक मतले पराजित भएका थिए । ओलाङचुङगोलाका ५० प्रतिशतभन्दा बढी मतदाता बस्तीभन्दा बाहिर छन् । स्थानीय बासिन्दाका अनुसार रोजगारी र पढाइको सिलसिलामा गाउँका धेरैजसो काठमाडौं, भारतको दार्जिलिङ, सिक्किम र अमेरिका, क्यानडालगायतमा छन् । विगतको चुनावमा बाहिरबाट मतदाता ल्याउँदा दुवै पार्टीका उम्मेदवारको निकै खर्च भएको थियो । आवश्यकताभन्दा बढी खर्च र सानो बस्तीमा ठूलो अन्तरद्वन्द्व भएपछि निर्वाचनमा नजाने निर्णय भएको टाँसी बताउँछन् । उनले भने, ‘सानो बस्तीका मतदातालाई पनि अप्ठ्यारो हुँदोरहेछ । सबै आफ्नो मान्छे छ, कसलाई जिताउने र कसलाई हराउने ? २०७४ सालको पाठले पनि सर्वसम्मत गर्‍यौं ।’ बाहिर नदेखिए पनि यो निर्वाचनपछि सानो बस्तीमा लामो समयसम्म अन्तरद्वन्द्व देखिएको उनले बताए । वर्तमान वडाध्यक्ष छेतेन भोटे सहमति गर्छौं भन्दा गाउँले पनि खुसी भएको बताउँछन् ।

सदरमुकामभन्दा टाढाको बस्ती र धेरै विकास गर्नुपर्ने भएकाले मिल्नुको विकल्प नभएको नवनिर्वाचित वडाध्यक्ष छेतेन बताउँछन् । सबै स्वतन्त्रबाट निर्वाचित भएकाले दलीय हिसाबले विभाजित हुने मेरो–तेरो भन्ने नै नभएको उनले बताए ।

ओलाङचुङगोलाकै जस्तो एकल उम्मेदवारी गण्डकी प्रदेशका केही स्थानीय तहमा पनि देखिएको छ । मनाङको मनाङ ङिस्याङ गाउँपालिका–३ को वडाध्यक्षमा कृष्ण लामा (स्वतन्त्र) वडाध्यक्षमा एकल उम्मेदवारी दर्ता भएको छ । त्यस्तै मनाङकै ङिस्याङ गाउँपालिका–९ को वडाध्यक्षमा च्योल्पा गुरुङ र ७ को वडाध्यक्षमा ओमबहादुर गुरुङको एकल उम्मेदवारी परेको छ । त्यस्तै मनाङकै चामे गाउँपालिका–१ मा एमालेका खड्कजंग गुरुङ र २ मा कांग्रेसका मंगलदेव गुरुङको पनि वडाध्यक्षमै एकल उम्मेदवारी परेको छ ।

गोरखाको चुमनुव्री गाउँपालिका–६ चुम्चेतको वडाध्यक्षसहितका चार पद र वडा १ सामागाउँको ३ सदस्य पदमा एकल उम्मेदवारी परेको छ । वडा ६ को अध्यक्षमा माओवादीका २८ वर्षीय सरोज लामाको एकल उम्मेदवारी परेको छ ।

चुम्चेतमा कांग्रेस र माओवादीले वडाध्यक्षसहितका पद भागबन्डा गरेर निर्विरोध बनाएका हुन् । वडाध्यक्षमा लामा र सदस्य ठिन्ले ग्याम्जो लामाले माओवादीका तर्फबाट एकल उम्मेदवारी दिएका हुन् । कांग्रेसका तर्फबाट वडा सदस्यमा सोनाम लामा र महिला सदस्यमा डोल्मा लामाको एकल उम्मेदवारी परेको छ । दलित सदस्यका तर्फबाट कसैको पनि उम्मेदवारी परेको छैन । तिब्बती सीमासँग जोडिएको चुमनुव्री–१ सामागाउँबाट पासाङ लामा, डोल्मा लामा र कर्मा सन्दुकको वडा सदस्यमा एकल उम्मेदवारी परेको छ ।

यस्तै मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको तीन वडामा पनि एकल उम्मेदवारी परेको छ । वडा १ मा वडाध्यक्ष पदमा एमालेका टसीढिन्डु ठकुरीको एकल उम्मेदवारी परेको छ । यो वडामा सदस्य पदमा एमालेकै एक र कांग्रेसका २ सदस्यको पनि एकल उम्मेदवारी परेको छ । वडा ३ मा वडाध्यक्षमा एमालेकै झियानतिजिन गुरुङको एकल उम्मेदवारी परेको छ । यो वडामा सदस्य पदमा एमालेका ३ र कांग्रेसका एक सदस्यको पनि एकल उम्मेदवारी परेको छ । त्यस्तै वडा ४ मा वडाध्यक्षमा एमालेका झियानछुसाङ गुरुङको एकल उम्मेदवारी परेको छ । त्यस्तै ४ जना वडा सदस्यका लागि पनि एकल उम्मेदवारी परेको छ । २ नम्बर वडामा पनि एमालेको तीन र कांग्रेसका एक सदस्यको एकल उम्मेदवारी परेको छ ।

कलेन्द्र सेजुवाल (सुर्खेत), आनन्द गौतम (ताप्लेजुङ), आश गुरुङ (लमजुङ) र हरिराम उप्रेती (गोरखा)

प्रतिक्रिया

सम्बन्धित खवर