धनगढी: सुदूरपश्चिममा क्रियाशील राजनीतिक दलहरु स्थानीय तहअनुसार घोषणापत्र बनाउन अनिइच्छुक देखिएका छन्। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटमा व्यस्त रहेका दलहरुले स्थानीय तहअनुसार घोषणापत्र बनाउन चाहेका छैनन्।

स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरूले केन्द्रमा नै चुनावी घोषणापत्र तयार गरी सार्वजनिक गर्न थालेका छन्। त्यसरी राष्ट्रिय स्तरमा तयार भइरहेको घोषणापत्रको भने कुनै औचित्य नहुने तर्क गरिएको छ। स्थानीय तहमा फरक–फरक आवश्यता र समस्या हुने भएकोले तिनको समाधान गर्न स्थानीय तहमै चुनावी प्रतिवद्धता पत्र तयार हुनुपर्ने आवश्यकता औंल्याइएको छ।

स्थानीय तहको निर्वाचनमा मत माग्दा स्थानीय अवश्यकता बुझेको र एजेण्डा भएको उम्मेदवार छान्न पाउनुपर्ने भए पनि दलहरूले त्यो आवश्यकता नबुझेको धनगढीका सन्देश जोशीले बताए। ‘हाम्रा आवश्यकता के हुन् भनेर हामीलाई थाहा छ, यहाँका नेताहरुलाई पनि थाहा होला।’ उनले भने, ‘काठमाडौंका नेताले गाउँमा यो गर्छु त्यो गर्छु भन्नु बेकार हो।’

स्थानीय तहको निर्वाचनका लागि दलहरूले केन्द्रमा घोषणा पत्र तयार गर्नु अमिल्दो कुरा भएको राजनीतिक विश्लेषकहरू पनि बताउँछन्। संघीय निर्वाचनमा जस्तै विभिन्न लोकप्रिय कार्यक्रम समेटेर दलहरूले केन्द्रमा गाउँका लागि घोषणा पत्र लेख्नु गलत अभ्यास भएको राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले सुनाए। ‘स्थानीय तहको निर्वाचन दलीय संसारभरका थोरै मुलुकमा पनि हुँदैन। छिमेकी मुलुक भारतमा पनि स्थानीय तहमा गैरदलीय चुनाव हुन्छ’ उनी भन्छन्, ‘स्थानीय निर्वाचनका लागि केन्द्रमा पार्टीहरुले घोषणापत्र लेख्नु पनि अमिल्दो छ।’

स्थानीय तहका जनप्रतिनिधिले स्थानीय मतदातासँग मत माग्नुपर्ने र स्थानीय आवाश्यकता अनुसार काम गर्नुपर्ने हुन्छ। त्यसका लागि देशको समग्र अवस्था समेटेर बनाइएका घोषणापत्र काम लाग्दैनन्। स्थानीयस्तरमा रहेका समस्या समाधान गर्न स्थानीय तहमै पार्टीका घोषणा पत्र बन्नुपर्ने भए पनि स्थानीय पार्टी नेतृत्व परिपक्व नभएकोले केन्द्रले घोषणा पत्र बनाउन थालेको विश्लेषक डाक्टर केदारचन्द्र भट्टले बताउँछन्। ‘स्थानीय तहका आवश्यकता स्थानीय नेताहरुलाई थाहा हुनुपर्छ। हाम्रोमा स्थानीय तह र नेताहरु परिपक्व र व्यवस्थित नभएको कारण पार्टीहरुले केन्द्रमा नै चुनावी घोषणा लेखेको हुनुपर्छ’ उनले भने।

स्थानीय तहको निर्वाचनमा राष्ट्रिय चुनावको जस्तो ठूला घोषणा गर्नुपर्ने आवश्यकता नै नरहेको बताइएको छ। पार्टीहरूले केन्द्रमा घोषणा पत्र बनाउने र दर्जनौं कुरा निःशुल्क गर्ने भन्ने तर भ्रष्ट्राचारबारे भने केही नबोल्नु गलत भएको धनगढीका नागरिक अगुवा प्रमोद पाठकले बताए। उनले भने, ‘स्थानीय चुनावमा यो गर्छु त्यो गर्छु भनेर ठुला कुरा गर्नुको कुनै औचित्य छैन। भ्रष्ट्राचार रोक्ने कुनै स्पष्ट योजना नभएको घोषणा पत्रको काम छैन।’

स्थानीय तहको निर्वाचनमा विभिन्न आकर्षक नारा लिएर दलहरू भोट माग्न थालेका छन्। तर ती नाराहरू भने स्थानीय तहको आवश्यकता र समस्यासँग मेल खान्छन्, खादैनन् त्योबारे दल तथा तिनका स्थानीय नेताले समेत हेक्का राखेको देखिन्न। दिनेशखवर

प्रतिक्रिया

सम्बन्धित खवर