दैलेखमा स्थानीय तहको चुनावमा भागवण्डा मिलाउन बसेको सत्तारुढ दलहरूको बैठक विनानिष्कर्ष टुंगिएको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) दल आ-आफनो अडानबाट पछि नहटेपछि सहमति जुट्न नसकेको हो ।

माओवादी केन्द्रका जिल्ला संयोजक प्रेम कटुवालका अनुसार स्थानीय तहको नेतृत्व बाँडफाँट नटुंगिएकाले सोमबार दिउँसो फेरि बैठक बस्ने सहमति भएको छ । दैलेखमा माओवादी र एकीकृत समाजवादीले ५० प्रतिसत पाउनु पर्ने अडान लिएका छन् । तर काँग्रेस दिन तयार छैन् ।

स्थानीय निर्वाचन २०७४ मा दैलेखका ११ स्थानीय तहमध्ये ४ पालिकामा नेपाली कांग्रेसले जितेको थियो भने ७ पालिकामा नेकपा एमालेले जितेको थियो । ‘जिल्लामा माओवादी निर्णायक भएकाले सम्मान जनक भागबन्डा हुनुपर्छ, हामीले ३० प्रतिशत मागेका छौं, तर सहमति जुट्न सकेको छैन्,’ संयोजक कटुवालले भने ।

दैलेखमा नेकपा एमाले विभाजित हुँदा एक पालिका प्रमुख र तीन उपप्रमुख एकीकृत समाजवादीतिर लागेका छन् । जिल्लामा आफ्नो पकड राम्रो रहेको भन्दै एकीकृत समाजवादीले तीन पालिकाको नेतृत्व आफूले पाउनुपर्ने अडान लिएको छ ।

जिल्लामा कांग्रेसले ७, माओवादीले तीन र एकीकृत समाजवादीले तीन पालिकाको नेतृत्व पाउनु पर्ने बताउँदै आएका छन् ।
कांग्रेस जिल्ला सभापति मणिराम रेग्मीले भने गठबन्धनमा दलहरूसँग सहमति नजुटे कांग्रेस एक्लै चुनाव लड्ने बताए । ‘अहिले पनि छलफल जारी छ, आ-आफना अडान कायमै छन् । ८ गतेसम्म सहमतिको प्रयास गछौं’ सभापति रेग्मीले  भने, ‘संसदीय दलको बैठक ८ गते नै बोलाएका छौं । सहमति नजुटे ९ गते टिकट बाँडेर उम्मेदवारलाई गाउँ पठाउँछौं ।’

माओवादी र समाजवादीले अली बढी नै पालिका माग गरेपछि भागवण्डा मिल्न नसकेको बताए । ‘उहाँहरूको अडानले सहमति हुने सम्भावना कम देखिन्छ । यद्यपि प्रयास भने जारी छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर