पत्रपत्रिका
रातोपाटि
मदन ढुुगाना
अभिनेता पल शाहले आफूमाथि पटकपटक बलात्कार गरेको जाहेरी लिएर प्रहरी कार्यालयमा जाहेरी दिएकी नाबालिगले अदालतमा बकपत्र गर्ने समयमा आफ्नो बयान फेरेकी छिन् । अदालतमा मुद्दा दायर हुने बेलासम्म आफूमाथि पटकपटक बलात्कार भएको बयान दिएकी नाबालिगले अदालतमा बकपत्र गर्ने समयमा भने पहिले दिएको बयान प्रतिकुल हुने गरी होस्टाइल बयान दिएकी हुन् ।
पीडित नाबालिगको तर्फबाट मुद्दा लडिरहेकी एक अधिवक्ताका अनुसार पीडित बालिकाले आइतबार तनहुँ जिल्ला अदालतमा बकपत्र गर्ने क्रममा होस्टाइल बयान दिएकी छिन् । प्रहरी कार्यालयमा जाहेरी दिने समय र सरकारी वकिल सामुन्ने लिइएको बयानमा पीडित बालिकाले आफूमाथि जबरजस्ती करणी भएको दाबी गरेकी थिइन् । तर आइतबार अदालतमा बयान गर्ने क्रममा भने नाबालिगले आफूमाथि बलात्कार नभएको तर दबाब र प्रभावमा परी बलात्कारको जाहेरी दिएको बकपत्र गरेकी छिन् । उनको होस्टाइल बकपत्र लगत्तै पल शाह प्रकरणमा ट्वीस्ट आएको छ ।
नाबालिगको तर्फबाट कानुनी सहायता दिइरहेकी एक अधिवक्ताका अनुसार जाहेरवाला रहेका पीडित नाबालिगका बुवाले पनि होस्टाइल बकपत्र गरेका छन् । उनले पनि नाबालिगले जस्तै जबरजस्ती करणी नभएको तर दबाब र प्रभावमा परी जाहेरी दिएको भन्दै एकै मिलानको बयान गरेका छन् ।
पीडित नाबालिग र नाबालिगको तर्फबाट जाहेरी दिएका उनका बुवाको होस्टाइल बकपत्रसँगै अभिनेता पल शाहलाई केही राहत मिलेको अनुमान गरिएको छ । मुख्यतः तथ्य र प्रमाणबाट पुष्टि हुने अन्य आधार नदेखिएको अवस्थामा पीडित पक्षले बयान फेरेमा अदालतले आरोपितलाई सफाइ दिने सम्भावना बढी रहन्छ ।
पीडितको शरीर नै घटनास्थल, पीडितको बयान नै मुख्य आधार
अडियोलाई समेत प्रमाण
तर यसअघि थुनछेक प्रयोजनका लागि भएको आदेशमा अदालतले पीडित पक्षबाट पेस गरिएको अडियोलाई समेत प्रमाणका रूपमा लिइएको छ । थुनछेक आदेश दिने क्रममा अदालतले ‘ब्वाईफ्रेण्ड गर्लफ्रेण्डबीच सम्बन्ध हुनु नर्मल हो, प्रेग्नेन्ट भएको खण्डमा मात्रै निजलाई स्वीकार गर्ने कुरा आउँछ’ भनी बोलेको प्रमाणलाई अभियुक्तले आफ्नै आवाज हो भनी स्वीकार गरेको र उक्त अडियोबाट बलात्कार भएको पुष्टि भएको बताएको थियो । यसकारण यही तथ्य र प्रमाण पनि शाहविरुद्ध दरिलो प्रमाणको रूपमा रहन सक्छ ।
त्यसो त धेरैले पल शाह प्रकरणमा पीडित होस्टाइल भएपछि महरा प्रकरणसँग जोड्दै अभियुक्तले सपाइ पाउने आधार बनेको अड्कलबाजी गर्न थालेका छन् । पूर्व सभामुख कृष्ण बहादुर महरा प्रकरणमा पीडित भनिएकी महिलाले अदालतमा होस्टाइल बकपत्र गरेपछि उनले सपाइ पाएका थिए । धेरैले त्यही होस्टाइल बकपत्रलाई देखाएर पल शाहले पनि सपाइ पाउने आङ्कलन गर्न थालेका छन् ।
तर अदालतले पीडित होस्टाइल हुँदैमा सफाइ दिइहाल्छ वा सजाय ठहर गर्छ भन्नेचाहिँ हुँदैन । पीडितको शारीरिक स्वास्थ्य परीक्षण, घटनास्थलबाट बरामद भएका तथ्य र प्रमाण, पीडित र पीडितका साक्षीको मौकाको बयान, प्रतिवादीकै पूर्ववत् बयान र प्रतिवादीका साक्षीको बयान, घटना भएको भनिएको समयको कल डिटेल्स रिपोर्ट, सन्देश आदनप्रदान आदि विषयलाई पनि प्रमाणको रूपमा लिन सक्छ ।
घटनामा पीडित नाबालिग रहेको कारण उनी होस्टाइल हुनुको कारण आदि पनि खोज्न सक्छ । पीडित र जाहेरवाला होस्टाइल भए पनि अन्य तथ्य र प्रमाणले अभियोग दाबी पुग्ने अवस्था देखिएमा अभियुक्तमाथि सजाय ठहर हुन पनि सक्नेछ । पीडित होस्टाइल भएको अवस्थामा वा जाहेरवालाले बयान फेरे पनि अबको तीन विकल्प भनेको अभियुक्तमाथि सपाइ र झुटो जाहेरीमा जाहेरवालालाई जरिवाना र जेल सजाय, अभियुक्तलाई सपाइ र जाहेरवालालाई जरिवाना, अभियुक्तमाथि सजाय ठहर र जाहेरवालामाथि पनि कारबाही तथा नाबालिगलाई सुधार गृह । नाबालिगको उमेर १८ वर्षभन्दा कम रहेको तर नाबालिगले मदिरा सेवनसमेत गर्ने गरेको तथ्य खुलेको कारण नाबालिगलाई सुधार केन्द्रमा पठाउन सक्ने सम्भावना पनि हुन सक्छ ।
यद्यपि सर्वोच्च अदालतकै एउटा यस्तो नजिर छ, जहाँ पीडितले बयान फेरे पनि अभियुक्तमाथि सजाय ठहर गरिएको छ र वारदातको समयमा करणी भई पछि माया प्रेममा परे वा विवाह गरे पनि त्यसलाई बलात्कार नै मान्ने नजिर यस्तो छ ।
पीडित होस्टाइल हुँदा पनि सजाय ठहर गरिएको त्यो नजिर …
२०६७ साल असार ३२ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रेम शर्मा र रणबहादुर बम रहेको संयुक्त इजलासले जबरजस्ती करणी मुद्दामा पीडित होस्टाइल भई बयान फेरे पनि अभियुक्तलाई सजाय सुनाएका थिए । अभियुक्तले एक वर्षपछि पीडितसँग विवाह गरी श्रीमान् श्रीमती बने पनि घटना भएको समयमा बलात्कार नै भएको भन्दै अभियुक्तलाई ५ वर्षका सजाय सुनाएका छन् ।
सर्वोच्च अदालतमा २०६४ सालमा एउटा पुनरावेदनको रिट पर्यो । जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत सिन्धुली र पुनरावेदन अदालत जनकपुरले अभियुक्तलाई सफाइ दिएको भन्दै सो सफाइ कानुनसम्मत नदेखिएको जिकिर गर्दै सरकारकै तर्फबाट पुनरावेदन भयो ।
सिआर–०५६८ नम्बरमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा प्रतिवादीले सफाइ पाएपछि सरकार आफै पुनरावेदनका लागि सर्वोच्च अदालत पुगेको थियो । सोही मुद्दामा सर्वोच्च अदालतले करिब ३ वर्षपछि फैसला सुनाउँदै पीडितले बयान फेरे पनि वा बलात्कारपछि विवाह गरेको भए पनि घटना भएको समयमा त्यो बलात्कार नै भएको भन्दै अभियुक्तलाई ५ वर्षको कैद सजाय सुनाएको थियो ।
यस्तो थियो घटना विवरण
२०६० साल माघ २४ गते राति ९ बजे साबिकको सिन्धुली जिल्ला टाँडी गाउँ विकास समिति वडा नम्बर ६ माथिल्लो धनसरीका रविन भन्ने नारायण पौडेल खत्रीले सोही स्थान बस्ने २० वर्षीय युवती (परिवर्तित नाम समयकुमारी)लाई बलात्कार गर्छन् । स्वस्थानी पूजाको साङ्गे गरेको दिन प्रसाद बाँड्ने क्रममा क्यासेट बजाइ नाचगान गरिरहँदा क्यासेट बिग्रिएकाले सल्लाहमै स्थानीय प्रकाश बस्नेतको घर जान्छन् । प्रकाश र समयकुमारीसँगै प्रकाशका भान्जा नारायण पौडेल र अर्की महिला कृष्ण कुमारी पनि सँगै गएका थिए ।
तर जब उनीहरू प्रकाशको घरमा पुगे, प्रकाश क्यासेट लिन पछि घरभित्र छिरेलगत्तै प्रकाशका भान्जा नारायण पौडेलले समयकुमारीलाई तानेर खेतमा लैजान्छन् । यो सबै देखेकी कृष्णकुमारीले प्रतिकार गर्न खोज्दा नारायणले उनलाई धम्की दिन्छन् र समयकुमारीलाई मकै रोपिएको खेतमा लगेर बलात्कार गर्छन् । समयकुमारीले चिच्याउन खोज्दा उनको मुखमा सल कोचेर बलात्कार गर्छन् ।
बलात्कार गर्ने क्रममा समयकुमारीको सुरुवाल पनि च्यातिन्छ । यो सबै प्रत्यक्ष देखेकी कृष्णकुमारीले सोको सम्बन्धमा पीडितकी बुवालाई सबै कुरा भन्छिन् । बलात्कारको दृश्य प्रकाश बस्नेतले पनि देख्छन् । यद्यपि उनी पनि चुपचाप बसिदिन्छन् ।
यो घटना थाहा नपाउने गाउँले कोही थिएनन् । यद्यपि घटना प्रहरीसम्म पुग्न एक साता लाग्यो । माघ २४ गते भएको बलात्कारबारे फागुन २ गते प्रहरीमा लिखित जाहेरी पर्यो । जाहेरी लगत्तै आरोपी फरार भए । प्रहरीले घटनाको अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत् जिल्ला अदालत सिन्धुलीमा मुद्दा दायर गर्यो । सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा पेश गरेको प्रमाणमा प्रत्यक्ष घटना देख्ने साक्षी कृष्ण कुमारी, बलात्कार गरिरहेको देख्ने नारायणकै मामा प्रकाश बस्नेत, रोइकराई गरेको देख्ने अन्य साक्षी र योनी च्यातिएको बारेको मेडिकल रिपोर्ट पनि उल्लेख थियो ।
जाहेरीको समय कुमारीले अदालतमा न्यायाधीशसमक्ष गरेको बयानमा पनि रविन भन्ने नारायणले आफूलाई बलात्कार गरेको उल्लेख गरेकी थिइन् । तर मुद्दाको किनारा लाग्नै लाग्दा २०६१ साल माघ १२ गते घटनामा ट्वीस्ट आउँछ । पीडित भनिएकी समय कुमारी आफैले माघ १० गतेको मितिमा निवेदन लेखि पीडक भनिएका नारायण पौडेलले आफूलाई बलात्कार गरेको नभई आफूहरुबीच सहमतिमै यौन सम्पर्क भएको र हाल विवाह गरिसकेको कुरा बताइन् ।
यता माघ १५ गते आरोपित नारायण पौडेल आफै अदालतमा उपस्थित भई जाहेरवाली समयकुमारीसँग २०५९ सालदेखि प्रेम सम्बन्धमा रहेको र त्यसभन्दा अगाडि पनि राजीखुशीमै यौन सम्पर्क हुने गरेको र त्यसदिन पनि सहमतिमै यौन सम्पर्क भएको तथा फागुन १३ गते आफूहरुबीच सामाजिक परम्परा अनुसार विवाहसमेत भइसकेको भन्दै आफूहरू श्रीमान् श्रीमती भएको जिकिर गरे ।
त्यसपछि केही समय चलेको मुद्दामा जिल्ला अदालत सिन्धुलीले २०६१ चैत २३ गते आरोपितले सफाइ पाउने गरी फैसला गर्छ । जिल्लाको फैसला चित्त नबुझाएको सरकारी वकिल कार्यालय त्यो मुद्दा बोकेर पुनरावेदन अदालत जनकपुर पुग्छ । तर पुनरावेदन अदालत जनकपुरले पनि २०६२ साल चैत २३ गते नै आरोपितले सफाइ पाउने जिल्ला अदालतकै फैसलालाई सदर गरिदिन्छ । पुनरावेदन अदालतको फैसलामा पनि चित्त नबुझाएर महान्यायाधिवक्ता कार्यालय यो मुद्दा बोकेर सर्वोच्च अदालत पुग्छ ।
२०६४ सालमा दर्ता भएको मुद्दामा ३ वर्षपछि २०६७ साल असार ३२ गते सर्वोच्च अदालतले फैसला गर्दै पीडितले बयान फेरे पनि वा बलात्कार पश्चात् विवाह नै गरेको भए पनि घटना भएको अवस्थामा त्यो बलात्कार नै भएको भन्दै अभियुक्तलाई दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाउँछ ।
यो मुद्दामा अदालतले स्पष्ट ढङ्गले कानुनी व्यवस्थाको व्याख्या गर्दै पीडित होस्टाइल भइदिए वा पीडितले बयान फेरे पनि प्राप्त तथ्य र प्रमाणका आधारमा घटना भएको अवस्थामा बलात्कार नै भएको कारण दोषी ठहर गरेको थियो ।