
शुक्रबार २ बैशाख, २०७९
वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले जीतपुर सिमरा उपमहानगरमा गठबन्धन नगर्ने निर्णय गरेको छ । काँग्रेस उपमहानगर कमिटीले विज्ञप्ति जारी गर्दै वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगरी एक्लै लड्ने जनाएको हो ।
‘नेपाली काँग्रेसको संगठनात्मक अवस्था विगतको तुलनामा राम्रो भएको र हाम्रो पार्टीबाट निर्वाचित वडाध्यक्ष र वडा सदस्यहरुले राम्रो कार्यसम्पादन गरेकाले जीतपुर सिमरा उपमहानगरमा कुनै पनि पार्टीसँग गठबन्धन नगरी अगामी स्थानीय निर्वाचनमा भाग लिने रायसहितको व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
२०७४ को निर्वाचनमा नगरप्रमुख र उपप्रमुख दुवै पदमा दोस्रो भएको नेपाली काँग्रेसले आगामी निर्वाचनमा गठबन्धन भए पहिलो दाबी आफ्नो हुने जनाएको छ । नेपाली काँग्रेसका महासमिति सदस्य तथा नगरप्रमुखका दावेदार श्यामबाबु गुप्ताले २५ औं वर्ष कम्युनिस्टले नेतृत्व गर्दा पनि उपमहानगरमा कुनै बिकास नभएकाले यसपटक काँग्रेसलाई जनताले हेर्न चाहेको बताएका छन् ।