नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको पहिचान र अधिकारसहितको संविधान संसोधन प्रस्ताव पारितको बाधक एमाले रहेको बताएका छन्। सिराहको मिर्चैयामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले त्यसका असली भागिदार केपी शर्मा ओली रहेको बताए।

‘मधेसी जनताको पहिचान र अधिकार संविधानमा जति लेखिनुपर्थ्यो, लेखिएन। मधेसी जनताको अधिकारलाई परिमार्जनका निमित्त संसद सचिवालयमा प्रस्तावसमेत दर्तासमेत भयो। एमाले भन्ने पार्टी र केपी ओली भन्ने नेताकै कारण मधेसी जनताको पहिचान र अधिकारको संसोधन प्रस्ताव पारित हुन सकेन। यो ऐतिहासिक तथ्य पनि हो,’ उनले भने।

पहिचान र अधिकारको लडाइँका लागि आफूहरुले अभियान अघि बढाएको उनले बताए। ‘प्रचण्ड भनेको पहाडियामात्रै होइन, नेपाली जनताको छोरो हुँ भनेर सिराहबाट चुनाव लडेको थिएँ,’ उनले भने।

उनले ठूलो बलिदानबाट प्राप्त गरेको पहिचान, अधिकार, समावेशी संघीयता, गणतन्त्र र धर्म निरपेक्ष उल्ट्याउने षड्यन्त्र भएको बताए। ‘केपी ओलीले पार्टीमा अल्पमत परेको हुनाले संसद् विघटन गर्ने अपराध गरे। त्यो अपराध पार्टीका विरुद्ध संघर्षका नाममा गरियो। जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त उपलब्धि उल्ट्याउने दुस्साहस भयो। त्यो षड्यन्त्र सफल हुन्थ्यो भने यो देश राजनीतिक दुर्घटनामा परिसक्थ्यो,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर