परासी : जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले हतियार बुझाउन निकालेको सूचना कार्यान्वयन गर्न चासो दिएको पाइएको छैन । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले सर्वसाधारणले राखेका हतियार बुझाउन सूचना प्रकाशन गरेर अनुरोध गरेको छ ।

तर, अहिलेसम्म भने हतियार बुझाउन धेरैले अटेरी गर्दै चासो देखाएका छैनन् । हतियारको खोजी गर्दै छिटो बुझाउनका लागि प्रशासनले सर्वसाधारणलाई ताकेतासमेत गरेको पाइएको छैन । जसका कारण सूचनालाई मात्र आधार मानेर हतियार बुझाउन कसैले चासो नदेखाएका हुन् ।

यसले निर्वाचनको समयमा हतियारको दुरुपयोग हुने संभावना पनि नबढ्ला भन्न सकिदैन । चैत ११ गते प्रहरी कार्यालयमा हतियार बुझाउन प्रशासनले सूचना निकालेको हो । हतियार बुझाउने म्याद चैत मसान्तसम्म दिइएको छ । जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिएर हतियार राख्नेको संख्या ३ सय ४६ रहेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।

धेरै संख्यामा हतियार राखेको पाइएपनि बिहीबारसम्म जम्मा ५ जनाले मात्र बुझाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी प्रेम शाहीले जानकारी दिए । बुझाइएकामा १२ बोरका राइफल हुन् । इजाजत दिएकामध्ये १ सय ११ नवीकरण छैनन् । हतियारको अवस्थाका बारेमा पनि प्रशासन बेखबर जस्तै छ ।

सम्बन्धित प्रहरी कार्यालयमा सूचना टाँस गर्ने र कार्यालयको फेसबुक पेजमा मात्र सूचनालाई केन्द्रित गर्दा आमसर्वसाधारणले त्यसको जानकारी पाउन नसकेको बताइएको छ । सूचनालाई व्यापक बनाउन नसक्दा पनि सोचे अनुसारका हतियार संकलन हुन नसकेको प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाइ छ ।

‘अझ पनि केही दिन बाँकी छ । सर्वसाधारणले सूचना नपाएर पनि हुनसक्छ । त्यसलाई व्यापक बनाउँछौं,’प्रजिअ पोखरेलले भने । जिल्लामा विगतमा सम्पन्न भएका निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएकोले यो चुनाव पनि शान्तिपूर्ण हुनेमा आफू विश्वस्त रहेको पोखरेलको भनाइ छ ।

हतियारको दुरुपयोग हुनसक्ने अवस्थालाई पनि गम्भीरताका साथ लिएर संकलन गरिने प्रजिअ पोखरेलले बताए । सबैभन्दा बढी भारतीय सिमावर्ती गाउँका सर्वसाधारणले हतियार राखेका छन् । हतियार राख्नेमा नेतादेखि गाउँमा बस्ने सामान्य व्यक्तिले समेत रहेको पाइएको छ ।

कानुनले तोकेको समयभित्र नवीकरण नगराए स्वत : अवैधजस्तै हुने भएकाले नवीकरण गराउनु पर्ने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।  जिल्ला प्रशासन कार्यालयले व्यक्तिगत आत्मरक्षाका लागि अनुमति दिएर हतियार राख्न दिने गरेको छ ।  इजाजत लिएर हतियार राख्ने व्यक्तिहरुसँग १२ बोरका राईफल बढी छन् । त्यसैगरी ब्रिजलोड, १२ बोर, कटुवा, भरुवा बन्दुक, टोटालगायतका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार