११ चैत २०७८, शुक्रबार
शेष घलेको नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षमा विनोद कुँवर चयन भएका छन्। शुक्रबार राति सम्पन्न भेलाले कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
एनआरएनएभित्रको विवादका बीच घलेको नेतृत्वमा चैत ८ देखि छुट्टै सम्मेलन गरेको थियो। संस्थापन पक्षले भने यसअघि असन्तुष्ट बनेका कुल आचार्यसहितलाई समेटेर मार्च २६ र २७ तारिखमा विश्व सम्मेलन आयोजना गरेको छ भने सोअघि बिहीबारदेखि सहमतिमै नेतृत्व चयन गरिनेछ।
घले समूहबाट अध्यक्षमा चयन भएका कुँवर म्याग्दी घर भइ दक्षिण कोरियामा व्यवसायमा संलग्न छन्।
सन् २००६ देखि एनआरएनएमा लागेका उनी संस्थापक सदस्य हुँदै सन् २००९–११ मा कोरियाको अध्यक्ष भएका थिए। त्यसपछि एनआरएनए कोरियाको सल्लाहकारको रूपमा रहेका उनी सन् २०१३ देखि ०१५ सम्मको कार्यकाल फेरि अध्यक्ष चयन भए । २०१५–०१७ मा आईसीसी सदस्य बनेका उनी २०१७–०१९ को कार्यकालमा भने एसिया प्यासिफिक क्षेत्रको उपसंयोजक भएर काम गरेका थिए।
घले समूहले उपाध्यक्षमा थर्कबहादुर सेन, सुरेन्द्र सिग्देल, उमेश कुमार पुडासैनी, बाबुराम लामालाई चयन गरेको छ। यस्तै महिला उपाध्यक्षमा भूमा लिम्बुलाई राखेको छ।
यस्तै महासचिवमा जानकी गुरूङ र सचिवमा जुनु गुरुङलाई चयन गरेको छ।
यस्तै कोषाध्यक्षमा डिलाराम खरेल, क्षेत्रीय संयोजक (युएसए) मा कृष्ण पोखरेल, ओसियानामा केशव कँडेल र युरोप क्षेत्रीय उपसंयोजकमा उल्का प्रसाद घिमिरे चयन भएका छन्।सेतोपाटिवाट









