४ चैत २०७८, शुक्रबार

अभिनेता पल शाहको दुई वटा बैंक खातामा रहेको रकम रोक्का गर्न जिल्ला सरकारी वकिलको कार्यालय, नवलपुर पूर्वले अदालतसमक्ष माग गरेको छ ।

जिल्ला अदालत, नवलपुर पूर्वमा बिहीबार दर्ता गरिएको मुद्दाको अभियोग पत्रमा पीडितलाई क्षतिपूर्ति दिलाउने प्रयोजनका लागि शाहको बैंकमा भएको रकम कसैले निकाल्न नपाउने गरी रोक्का राख्नका लागि सम्बन्धित बैंकमा आदेश गरिदिन माग गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, नवलपुर पूर्वले माग गरेको शाहको बैंक खाता विवरण अनुसार शाहको ग्लोबल आईएमई बैंकमा १६ लाख १० हजार २९१ रुपैयाँ र एनएमबी बैंकको खातामा ४ लाख २५ हजार रुपैयाँ छ ।

‘उक्त रकम मुलुकी फौजदारी कार्यविधि नियमावली २०७५ को नियम (११) (५) बमोजिम कोही कसैले निकाल्न नपाउने गरी रोक्का राख्नका लागि सम्बन्धित बैंकमा आदेश गरी पाउन अनुरोध छ’ अभियोग पत्रमा भनिएको छ ।

शाहबाट अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिमको रकम सोही ऐनको दफा ४१ (५) अनुसार पीडित राहत कोषमा जम्मा गरी पाउने व्यवस्था गर्न पनि भनिएको छ ।

शाहले विवाह गर्ने प्रलोभनमा २०७७ चैत ७ र ८ गते नाबालिकामाथि जबरजस्ती करणी गरेको निष्कर्षसहित सरकारी वकिलले बिहीबार जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर