गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले संघको निर्वाचन समिति पुनर्गठन गरि छुट्टै सम्मेलनको आयोजना गर्न लागेको प्रति संघले आपत्ति जनाएको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले एक विज्ञप्ति जारी गर्दै संघका पूर्वअध्यक्ष घलेले संघको निर्वाचन समिति पुनर्गठन गरिएको र छुट्टै सम्मेलन आयोजना गर्ने भनिएको कदमप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तिमा गैरआवासीय नेपाली संघको निर्वाचन यही मार्च २४ र २५ तारिख हुने तय भइसकेको अवस्थामा आपसी सहमतिबाट नै अहिलेको समस्या समाधान गर्न सकरात्मक पहल भइरहेको उल्लेख छ ।
संघले विज्ञप्ति मार्फत अन्तर्राष्ट्रिय समन्वय परिषदको ८२ औं बैठकले संरक्षक परिषद र उच्च स्तरिय समिति भङ्ग गरिसकेको र संघको विधानले पूर्व अध्यक्षहरूलाई कुनै पनि कार्यकारी अधिकार नदिएको अवस्थामा पूर्व अध्यक्ष शेष घलेबाट चालिएका कदम विधान र संघको परम्परा विपरित भएको जनाएको छ ।