२०७८ फाल्गुन २७, शुक्रबार

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको निर्वाचनका लागि आज शुक्रबार उम्मेदवारी दर्ताको अन्तिम दिन रहेको छ। निर्वाचन समितिका अनुसार मार्च २४ र २५ मा हुने निर्वाचनका लागि ४० जना बढी उम्मेदवारले मनोनयन दर्ता गराइसको छन् ।

निर्वाचन समितिका अनुसार बिहिबार बेलुकासम्म अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष डा. बद्री केसी (रुस) र रविना थापा (थापा) ले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ता आज साँझ ५ बजे सम्म जारी रहने छ । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्य भने संघको १० औं महाधिवेशनमा छानिएका करिब ५ सय भन्दा बढी प्रतिनिधि खारेजीको माग गरेका छन् ।

बिहीबार अबेर सम्म उम्मेदवारी दर्ता गर्नेमा उपाध्यक्षको लागि अष्ट्रेलियाबाट धर्मराज अधिकारी, बेलायतबाट डा हेमराज शर्मा, जयप्रकाश गुरुङ, ओमनबाट डिबी क्षेत्री लगायत छन् । महिला उपाध्यक्षमा साउदी अरबबाट यासमिन बेगम सैयदले उम्मेदवारी दिएकी छन्। यस्तै अफ्रिकाबाट रोशन थापाले युवा उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी महासचिवमा अमेरिकाबाट गौरीराज जोशी र बेलायतबाट विनय अधिकारी,सचिवमा अमेरिकाबाट शंकर खड्का, बेलायतबाट रामशरण सिम्खडा, जापानबाट ओम गुरुङ, क्यानाडाबाट चिरनजीवी घिमिरेले उम्मेदवारी दिएका छन् । महिला सचिवमा हङकङबाट राधिका गुरुङ,महिला सहकोषाध्यक्षमा अमेरिकाबाट युमना भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् ।

युवा संयोजकमा डेनमार्कबाट रवीन्द्र खड्का, महिला संयोजककमा बेलायतबाट संगिता मरहठ्ठाले उम्मेदवारी दर्ता गराएकी छन् । युरोप क्षेत्रीय संयोजकमा जर्मनीबाट सन्तोष भट्टराई, ओसिनिया क्षेत्रीय संयोजकमा अष्ट्रेलियाबाट दिनेशराज जोशी र न्यूजील्याण्डबाट लाल केसी, मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदीबाट राजेन्द्र अर्याल (जोन) को उम्मेदवारी परेको छ ।

एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा जापानबाट पारसमणि पोखरेल, एसिया प्यासिफिक महिला संयोजकमा मकाउबाट शान्तिदेवी अधिकारीले उम्मेदवारी दिएकी छन् ।

युरोप क्षेत्रीय उपसंयोजक पदका लागि जर्मनीबाट नवराज रोसायर र बेलायतबाट ललित न्यौपाने र सागर सुवेदी, एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा जापानबाट दलिवल खड्का र चीनबाट नवीन विकले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर