पत्रपत्रिका
२०७८ फाल्गुन २०, शुक्रबार
गाउँठाउँमा चौपायाले बालीनाली खाइदिने भएर गोठालो गर्ने गरिन्छ तर काठमाडौं उपत्यकामै भने सडक नबनाउन ठेकदारले आलटाल गर्लान् भनेर स्थानीयहरू वस्तुभाउको जस्तै गोठालो लाग्दै आएका छन् ।
पासाङल्हामु राजमार्गको बालाजु–रानीपौवा खण्डमा स्थानीय आजभोलि सो सडकको निर्माण भइरहेको विषयमा नियमित अनुगमन गर्दै आएका छन् ।
यतिसम्म कि बुधबार सो क्षेत्रको सडकमा ठेकदार तथा कामदार नदेखेपछि स्थानीय सडकमा उत्रिएर फोहोर बोकेर सिसडोल गइरहेका गाडीलाई हत्त न पत्त अवरोध गर्न पुगे ।
बिहान ढिलासम्म पनि सडकमा ठेकदार कम्पनी मेसिन र कामदार नदेखिएपछि तारकेश्वर नगरपालिक–३ स्थित तीन पिप्लेका स्थानीयले फोहोरका गाडी रोकेका थिए । केही समयपछि ठेकदार तथा कामदार निर्माण क्षेत्रमा फर्किएर काम थालेपछि अहिले भने फोहोरका गाडीहरूलाई खुला गरिएको छ ।