शुक्रबार १३ फागुन, २०७८
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले नेकपा एमालेले एमसीसीमा आफ्नो पार्टीको सहयोग चाहिए सभामुख अग्निप्रसाद सापकोटा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदहरुलाई बर्खास्त गर्नुपर्ने शर्त राखेकोमा दुःख व्यक्त गरे ।
अध्यक्ष नेपालले एमालेले एमसीसीको बारेमा स्पष्ट धारणा नराखेर अहिलेसम्म न पोथी न भालेको चाल देखाइरहेको बताए ।
उनले प्रधानमन्त्री देउवालाई हतारमा निर्णय नलिन र एमसीसीका केही प्रावधानहरु नसच्याएसम्म आफूहरु विपक्षमा रहने स्पष्ट पारेको पनि बताए ।
उनले भने, ‘सत्ता ध्रुवीकरणको अवस्था किन सिर्जना भयो भने शेरबहादुरजीको हिसावले सोच्ने हो भने उहाँको दुई वटा बाटो छ, एउटा एमसीसी पास गराउने, अथवा गठबन्धनलाई बरकरार राख्ने । उहाँको अन्तिम प्रयास एमसीसी पनि पास गराऔँ, गठबन्धन पनि नटुटाऔँ भन्ने हुन्छ । त्यही प्रयास निरन्तर अहिले पनि चलिरहेको छ । यसमा दुई तिहाई चाहिँदैन । त्यसैले यो अवरोध भइरहेको छ । एमसीसी सानो इस्यु होइन, गम्भीर इस्यु हो । गम्भीर विषयमा स्वभाविक वार्ता चलिरहन्छ । गतिरोध स्वभाविक नै हो । एमसीसी नेपालको लागि राम्रो हो । किनभने नौ देशहरुमा एमसीसी लागू भइसकेको छ, त्यहाँ अमेरिकाको न सेना आएको छ, न त्यहाँ कुनै हस्तक्षेप भएको छ । मंगोलिया जस्तो देशमा पनि एमसीसी बरकरार छ, त्यसकारण एमसीसी हाम्रो लागि राम्रो हो । एमसीसी पास हुन्छ । पास भइसकेपछि यो सरकार जान पनि सक्छ नजान पनि सक्छ । यही गठबन्धन चलिरहन सक्छ अथवा एमालेसँग मिलेर पनि गठबन्धन हुनसक्ने सम्भावना छ ।’
यस्तै सत्तारुढ दल माओवादी केन्द्रका सांसद मातृका यादवले आकस्मिक बैठक स्थगित हुनु र अवरोध भइरहनु संसारमै नौलो भएको बताए । उनले प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी पास गर्ने पक्षमा रहेको र देश दलालहरूको भएको आरोप लगाए ।
यादवले भने, ‘यसरी बैठक जुन स्थगित भइरहेको छ, अवरोध पनि छ । संसारमै नभएको कुरा नेपालमा भइरहेको छ । देउवाजी जसरी पनि एमसीसी पास गर्ने पक्षमा हुनुहुन्छ । यो दलाल नै दलालको देश हो । त्यही भएर बिग्रिएको छ ।’
एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफलको कार्यसूची रहेको प्रतिनिधिसभाको आजको बैठक पनि सरकारले आइतबारसम्मका लागि स्थगित गरेको छ ।