सोमबार ९ फागुन, २०७८

नेकपा एमालेका सचिव गोकर्णराज विष्टले एमसीसीका सम्बन्धमा सत्तारुढ दलहरुले तमासा देखाएको आरोप लगाएका छन् ।

गृहजिल्ला गुल्मीमा आयोजित एक कार्यक्रममा विष्टले एमसीसीबारे केही सत्तारुढ दलले दोहोरो चरित्र देखाएको आरोप लगाए ।

गुल्मीको मुसिकोट नगरपालिका–३ स्थित पाउखोला पेंगा लिफ्टिङ्ग खानेपानी योजना उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहेका विष्टले भने, ‘सरकारले संसदमा एमसीसी टेबुल गरेको छ, त्यही सरकारमा रहेका केही राजनीतिक दलले सडकमा विरोध गरिरहेका छन् ।

यो भनेको सत्तारुढ दलको तमासा नै हो ।’उनले एमसीसीका विषयमा नेकपा एमालेको धारणा भने बाहिर ल्याएनन् ।

उनले संसदमा जसरी सहमति बन्छ, त्यसरी नै नेकपा एमाले प्रस्तुत हुने तर्क गरे । जनतालाई शुद्ध र सहज खानेपानीको योजना, पालिका स्तरसम्म आधारभूत अस्पतालको सुविधा लगायतका विकास निर्माणका काम एमाले अध्यक्ष केपी शर्मा ओली कै पालामा अगाडि सारिएको दाबीसमेत उनले गरे ।

कार्यक्रममा प्रदेश सांसद खड्क केसी, मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा, उपप्रमुख कमला शर्मा, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, वडा नम्वर ३ का वडाध्यक्ष कर्णध्वज जिसी, नेपाली काँग्रेसका जिल्ला सदस्य झविन्द्र भण्डारी लगायतले आफ्नो धारणा राखेका थिए ।

उपभोक्ता समितिका अध्यक्ष तुल्सी रायमाझीका अनुसार करिव साढे दुई सय घरधुरी लाभान्वित हुने लक्ष्य रहेको सो योजना अन्तर्गत हालसम्म १५३ घरधुरीमा धारा पु¥याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर