
२०७८ माघ २६, बुधबार
खाँदबारी: हिमपातले सङ्खुवासभाको दुर्गम हिमाली क्षेत्र भोटखोला गाउँपालिका जाने सडक अवरुद्ध भएको छ।
हिमपातलका कारण यही माघ १९ गतेदेखि भोटखोला जाने सडक अवरुद्ध भएको भोटखोला गाउँपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेले जानकारी दिए।
सडक अवरुद्ध भएपछि भोटखोलाको किमाथाङ्का, रिदाक, छुम्सुर, थुदामलगायत गाउँमा खाद्यान्य सङ्कट भएको प्रशासकीय अधिकृत भोटेले बताए।
चार फिटसम्म हिउँ परेका कारण आवतजावत गर्ने सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकाको विभिन्न गाउँमा खाद्यान्य सङ्कट भएको हो।
भोटखोला–१ को किमाथाङ्कामा ११६ घर, वडा नम्बर–२ को थुदामका १६ घर, रिदाकका ७७ घर र छुम्सुरका २२ घरपरिवारका लागि खाद्यान्य सङ्कट भएको प्रशासकीय अधिकृत भोटेले जानकारी दिए।
खाद्यान्य सङ्कट भएका कूल २३१ घर परिवारका लागि तत्काल खाद्यान्य उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभा र गृह मन्त्रालयमा पत्राचार गरिसकेको प्रशासकीय अधिकृत भोटेले बताए।
हिमपातले जनजीवन कष्टकर भई तत्काल खाद्यान्य ढुवानी गर्न नसकिने भएको उनको भनाइ छ।
गाउँपालिकाले एक महिनाका लागि खाद्यान्य चामल, पिठो, तेल, दाललगायत सामग्री हेलिकप्टरमार्फत ढुवानीका जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयलाई पत्राचार गरिसकेको उनले बताए।
लगातारको हिमपातले सदरमुकाम खाँदबारी आउन र चीनतर्फ जाने सडक अवरुद्ध भएको छ।
हिमपातले स्थानीयवासीले लगाएको अन्नबालीसमेत पुरिएको बताइएको छ।
त्यस क्षेत्रमा हिउँ पर्ने क्रम नरोकिएको स्थानीयवासीले बताएका छन्।
कोरोना भाइरस सङ्क्रमण फैलन सक्ने भन्दै चीनले किमाथाङ्का नाका प्रवेश गर्ने चीनको देन्दाङ र चाँगा बजार प्रवेश गर्ने नाका दुई वर्षअघि देखि बन्द गरेको छ।