
२०७८ माघ २५, मंगलवार
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जुम्ला जिल्लाका इन्चार्जसहितको सिंगो जिल्ला पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा समाहित भएको छ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास खुमलटारमा मंगलबार बिहान आयोजित एक कार्यक्रमबीच जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा (रवीकिरण) सहित जिल्ला सेक्रेटर, सह–सेक्रेटरी लगायतका दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
अध्यक्ष प्रचण्डले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्री एकठाउँमा हुनुको कुनै विकल्प नरहेको बताए। परिवर्तनबाट प्राप्त उपलब्धीलाई बचाउन र नेपाली जनताको भाग्य भविष्यका लागि अझै लड्दै जान पनि माओवादी शक्ति एकजुट हुन आवश्यक भएको उनको भनाई थियो।
‘माओवादीलाई देशभित्र र देशबाहिरका प्रतिक्रियावादी कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहको छन्,’ उनले भने, ‘हामी यति ठूलो परिवर्तनका बहाकहरु विघटन वा विभाजन तिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ।’
उनले अहिले विस्तारै विभाजनका घाउहरू बिर्सिदै र देशको वस्तुगत अवस्थालाई मनन गर्दै माओवादीहरु एकठाउँमा केन्द्रित हुँदै गएको बताए।
‘जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौं। हामीलाई कसैले परास्त गर्न सक्दैन,’ उनले भने। अध्यक्षले नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने पनि बताए।
प्रवेश गर्नेका तर्फबाट रवीकिरणले नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन अध्यक्ष प्रचण्ड नै सक्षम रहेको बताउँदै अन्य कोहीले रहर गरेर नहुने बताए। अबको समाजवादी क्रान्तिका लागि अध्यक्ष नेतृत्वको पार्टीमा आफूहरु घर फर्किएको उनको भनाई थियो।