
२०७८ माघ २५, मंगलवार
अस्पतालमा रगत दिएर उपचार गर्नुपर्ने बिरामी र आकस्मिक दुर्घटनाका कारण रगत चाहिने व्यक्तिका आफन्तले पैसा तिरेर रगत किन्नुपर्ने अवस्था छ ।
अस्पताल र चिकित्सकको सिफारिसमा रक्त सञ्चार केन्द्रबाट रगत खरिद गर्दा एक पिन्टको रु एक हजारसम्म शुल्क बिरामीका आफन्तले तिर्दै आएका छन् ।
पोखराको रामघाटमा अवस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले सरकारी अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगतको रु ७०० र निजीका लागि रु एक हजार लिने गरेको छ ।
रक्तदाताले स्वेच्छिक दिएको रगतको शुल्क लिने नहुने र निःशुल्क हुनुपर्ने माग हुँदै आएकामा अब गण्डकी प्रदेशका सम्पूर्ण स्वास्थ्य संस्थामा उपचार गराइरहेका बिरामीलाई निःशुल्क रगत उपलब्ध हुने भएको हो ।
बिरामीले अब कुनै शुल्क तिर्न नपर्ने र सित्तैमा रगत दिने व्यवस्था सरकारले गरेको छ ।
प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले आफूहरूले रगत निःशुल्क हुनुपर्दछ भनेर पहिलादेखि नै माग गरेको बताउँदै सरकारको निर्णयले गरिब विपन्न र कमजोर आर्थिक अवस्था भएका नागरिक बढी लाभान्वित हुने बताए ।
उनले भने, “रगत निःशुल्क हुनुपर्दछ भनेर केन्द्रबाट पहिलेदेखि नै माग गरेका थियौँ, रक्तदाताले पनि उठाउँदै आएका हुन् । हामीले रगत दिन्छौँ, रक्तसञ्चारले पैसा लिन्छ भन्ने भ्रम पनि रक्तदातामा थियो तर हामीले रगतको भन्दा पनि जाँचेको पैसा लिने गरेका हौँ । रगत चाहिने व्यक्तिलाई पैसा नचाहिने निर्णय धेरै राम्रो छ ।”
रक्तसञ्चार केन्द्रमा बार्षिक रु दुई करोड ६० लाख सेवा शुल्कवापत सङ्कलन हुने बताइन्छ ।
गण्डकी प्रदेशको राजधानी सहर पोखरामा सबैभन्दा बढी रगत खपत हुने गरेको छ ।
जिल्ला अस्पतालहरूबाट पोखराका अस्पतालमा बिरामी सिफारिस भएर आउने गरेकाले पनि गम्भीर र जटिल रोगका बिरामीको यहाँ उपचार हुने गरेको छ ।
गण्डकी प्रदेशमा दैनिक ७० देखि ८० पिन्ट रगतको माग हुने गरेको बताइन्छ ।