२०७८ माघ २३, आईतवार
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बालुवाटारमा छलफल हुने भएको छ।
आइतबार अपरान्ह ४ बजे प्रधानमन्त्री देउवासहित ओली र प्रचण्ड छलफलमा जुट्ने भएका हुन्।
अमेरिकी सहयोग परियोजना एमसिसी र स्थानीय चुनावको मितिबारे उनीहरू छलफल हुन लागेको बालुवाटार स्रोतले जनाएको छ।
सरकारले स्थानीय तह चुनाव जेठ ४ मा गर्ने तयारी गरेको छ।
सम्भवत सोमबारको मन्त्रिपरिषद बैठकबाट स्थानीय चुनावको मिति तय हुनेछ।
यस्तै सरकारले एमसिसी सम्झौता अगाडि बढाउन लागेको छ।
संसदमा दर्ता भएको एमसिसीलाई टेबुल गर्ने तयारीमा सरकार छ तर सत्तारूढ गठबन्धनभित्रै यसबारे एकमत छैन।
एमसिसी अगाडि बढाउनेबारे प्रधानमन्त्री देउवा र प्रचण्डले पठाएको पत्र आज सार्वजनिक भएको थियो।
‘आज ४ बजे प्रधानमन्त्री, ओली र प्रचण्डबीच बालुवाटारमा छलफल गर्ने तय भएको छ,’ स्रोतले भन्यो।
छलफलमा सत्तारूढ दलका अन्य पार्टीका शीर्ष नेताहरूलाई बोलाइएको छैन।
गत असारमा प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलो पटक बालुवाटार जान लागेका हुन्।
नेकपाको एकता भंग भएर एमाले र माओवादी केन्द्र ब्युँतिएपछि ओली र प्रचण्डबीच छलफल भएको छैन।