२०७८ माघ २३, आईतवार

बलिउडकी गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक बनेको छ ।

केही दिनयता स्वास्थ्यमा सुधार देखिए पनि अहिले पुनः समस्या भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ ।

समाचारअनुसार उनको मुम्बईस्थित ब्रीच केण्डी अस्पतालमा उपचार भइरहेको छ ।

उनको उपचारमा संलग्न चिकित्सक डा. प्रतीत समदानीले गायिकाको स्वास्थ्य अवस्था पुनः बिग्रिएको पुष्टि गरेका छन् ।

‘उहाँको अवस्था नाजुक छ । उहाँलाई पुनः भेन्टिलेटरमा राखिएको छ ।

उहाँ अहिले पनि आईसीयूमा हुनुहुन्छ र डाक्टरले निगरानी गरिरहेका छन् ।’ उनले भने ।

लता गत महिनाको सुरुमै कोरोना संक्रमित भएकी थिइन् ।

त्यसपछि उनलाई संक्रमित भएपश्चात मुम्बईको ब्रीच केण्डी अस्पतालमा भर्ना गरिएको थियो ।

उनको उपचारमा संलग्न चिकित्सकले गायिकाको अवस्थामा बिस्तारै सुधार भइरहेको बताएका थिए ।

त्यही कारण उनलाई दुई दिनअघि भेन्टिलेटरको सपोर्टबाट हटाइएको थियो ।

केही दिनअघि उनका फ्यानले भगवान रामको जन्मभूमि अयोध्यामा लताको स्वास्थ्य लाभको कामना गर्दै महामृत्युञ्जय मन्त्र जप गरेका थिए । यसअघि उनको परिवारले नै भगवान शिवको पूजा गरेका थिए ।
लताको जन्म २८ सेप्टेम्बर १९२९ मा मध्यप्रदेशको इन्दोरमा भएको थियो ।
भारतरत्नबाट सम्मानित उनले बलिउडमा करियरको सुरुवात सन् १९४२ बाट गरेकी थिइन् ।
तर, उनले पहिचान भने फिल्म ‘महल’को गीत ‘आएगा आने वाला’बाट पाइन् ।
उनले २० भाषामा हालसम्म ३० हजारभन्दा बढी गीत गाइसकेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर