२२ माघ २०७८, शनिबार
दश वर्षको जापान बसाइलाई बीट मारेर आफ्नै देशमा फर्किएका म्याग्दीको मङ्गला गाउँपालिकाका कृष्ण पौडेल, १६ वर्ष मलेशिया बसेर गाउँ फर्किएका बेनी नगरपालिका २ का धु्रव थापा, लामो समय कोरियामा रोजगारी गरेका डडुवाका कृष्ण बानियाँ स्वदेश फर्केर व्यावसायिक कृषिमा लागेका छन् ।
लामो समयसम्म विदेशमा काम गरी कमाएको पैसा गाउँमा नै कृषि क्षेत्रमा लगानी गरेर मनग्य आम्दानी गर्न म्याग्देली युवाहरु सफल भएका छन् ।
विदेशबाट फर्केका युवाहरु आधुनिक प्रविधि र साधन स्रोतको प्रयोग गरी व्यावसायिक रुपमा नै कृषिमा लागेपछि गाउँमा रहेका युवाहरु पनि कृषि पेशाप्रति आकर्षित भएका छन् ।
जिल्लाका बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहहरुमा पछिल्लो समय व्यावसायिक कृषि फस्टाउँदै गएको स्थानीय तहका कृषि प्राविधिकहरुले बताएका छन् ।
विगत दुईवर्ष यता म्याग्दीमा २८ जना युवाहरु विदेशबाट फर्केर व्यावसायिक कृषिमा लागेका छन् ।
ती मध्येका एक हुन् मङ्गला गाउँपालिकाका कृष्ण पौडेल ।
जापानमा १० वर्ष बिताएका मङ्गला गाउँपालिका– २ तल्लो डडुवाका युवा पौडेलले व्यावसायिक रुपमा कृषि तथा पशुपालन गरेका छन् । परम्परागत शैलीको खेती र पशुपालनलाई विस्थापित गर्दै लकडाउनको समयमा कृषि र पशुपालनलाई व्यावसायिक आम्दानीको स्रोतको रुपमा अघि बढाएका हुन् ।