२१ माघ २०७८, शुक्रबार
हिमपातका कारण अवरुद्ध बनेको दशरथचन्द राजमार्ग नेपाली सेनाले खुलाएको छ ।
बिहीबारदेखि अवरुद्ध बनेको राजमार्गअन्तर्गत सतबाँझ– गोठलापानी खडकखण्ड नेपाली सेनाले हिउँ पन्छाएपछि आज मध्याह्नपछि खुलेको हो ।
उक्त सडकखण्डको हिउँ पन्छाउन हनुमानध्वज गुल्मबाट उपसेनानी बालाराम बुढाथोकीको नेतृत्वमा ६० जना नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो ।
राजमार्ग खुलाउन बिहानदेखि सेनाको टोली खटिएको र पछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि हिउँ पन्छाउन पुगेको थियो ।
हिउँ पन्छाएपछि उक्त सडकखण्डमा रोकिएका सवारी साधन र यात्रु आ–आफ्नो गन्तव्यतिर लागेका हनुमानध्वज गुल्मका गुल्मपति सेनानी खिलबहादुर रानाले बताए ।
उनले भने, “आपत विपदमा नेपाली सेना भन्ने हाम्रो मूल उद्देश्यका साथ हाम्रो टोली हिउँ पन्छाउन सडकमा उत्रिएको हो, यसअघि बिहीबार बेलुका पनि हाम्रो टोलीले बीच बाटोमै रोकिएका सवारीलाई हिउँ पन्छाएर गन्तव्यमा पठाएको थियो ।”
सतबाँझ– गोठलापानी सडकखण्ड सञ्चालनमा आएको भए पनि यहाँका अन्य राजमार्ग अझै अवरुद्ध रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।