एजेन्सी

२०७८ पुष २८, बुधबार

विस्फोटक पदार्थ पत्ता लगाउने वीरतापूर्ण कार्यका लागि स्वर्ण पदक पाएको चर्चित मुसा मागावाको आठ वर्षमा मृत्यु भएको छ ।

पाँच वर्ष लामो सेवामा मागावाले क्याम्बोडियामा जमिनमुनि बिछ्याइएको विस्फोटक पदार्थ पत्ता लगाएको थियो । बेल्जियमको संस्था अपोपोले विस्फोटक पदार्थबारे मानिसलाई जानकारी दिने काममा तालिम दिएकोमध्ये त्यो सबैभन्दा कामयाव मुसा थियो । अपोपोले ‘अफ्रिकन जायन्ट पाउच’ प्रजातिको सो मुसाको गत सप्ताहान्तमा मृत्यु भएको जनाएको हो । तान्जानियामा जन्मिएको मागावालाई एक वर्षको तालिमपछि क्याम्बोडिया पठाइएको थियो ।

क्याम्बोडियामा ६० लाख ल्याण्डमाइन, जमिनमुनि राखिएका विस्फोटक पदार्थ रहेको मानिन्छ । विस्फोटक पदार्थको रसायन सुँघ्ने तालिम पाएको मागावाले २० वटा फुटबल मैदानजत्रो जमिनलाई सफा गर्न सघाएको थियो ।

एक किलो २ सय ग्राम तौल र २८ इन्च लामो मागावा अन्य प्रजातिको मुसाको तुलनामा ठूलो भए पनि विस्फोटक पदार्थमाथि पर्दा पनि विस्फोट नगराउने तौलको थियो । मागावाले एउटा टेनिस मैदान जति जमिन २० मिनेटमा निरीक्षण गर्न सक्थ्यो, जुन कार्य गर्न मानिसलाई धातु पत्ता लगाउने यन्त्रको सहायताले एकदेखि चार दिन लाग्ने सक्थ्यो ।

सन् २०२० मा मागावालाई जीवन बचाउने कार्य गरेको भनेर पीडीएसए स्वर्ण पदक दिइएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर