पुस २७, २०७८
रोजगारीका लागि भारत गएका नेपाली कोरोना सङ्क्रमण त्रास बढेसँगै धमाधम घर फिर्न थालेका छन् ।
महोत्तरीका भारतीय सीमानाकाबाट घर फर्कनेको अहिले लर्को देखिँदो छ । यसरी फर्कनेमा भारतको हरियाणा, पञ्जाव, दिल्ली र मद्रासमा काम गर्न गएकाहरुको सङ्ख्या अधिक पाइएको छ ।
दशगजा (नेपाल–भारत सीमा) दुवैतिर सघन बस्ती भएको सीमा वारिपारि आउन जान ओल्लोघर पल्लोघर गएआएजस्तै भएपछि कति सङ्ख्यामा मान्छे भित्रिँदैछन् यसको तथ्याङ्क राख्ने काम कठिन बनेको छ ।
जिल्लाभरि भारतसँग सीमा जोडिएको ३८ किलोमिटर दूरीभित्र वारिपारिका बस्तीपिच्छे गोरेटा बाटो भएर अहिले मुलुक भित्रिने क्रम बाक्लिएको हो ।
नेपाल–भारत सीमा क्षेत्रका दुवैतिर साप्ताहिक हटिया (बजार) लाग्ने र यस्ता हटियामा दुवैतर्फ दैनिक घरायसी प्रयोजनका वस्तु किन्न दोहोरो आवतजावत हुने पुरानो कुरा हो ।
जिल्लामा मात्रै सीमासँग जोडिएका छवटा स्थानीय तहका ६० को हाराहारीका बस्ती छन् ।
भारततर्फ पनि त्यत्तिकै सङ्ख्याका बस्ती भएपछि खुला सीमामा सबै ठाउँ दोहोरो आवागमनको अनुगमन हुन व्यावहारिकरूपमै अप्ठ्यारो रहेको छ ।
यद्यपि सघन आवतजावतका मटिहानी, भिठ्ठामोर वरिपरि र सम्सीका सीमासँग जोडिएका बाटामा सुरक्षा र स्वास्थ्य जनशक्ति विन्यास गर्नैपर्ने आवश्यकता देखिँदो छ ।
यी ठाउँमा स्वास्थ्य हेल्पडेस्क स्थापना र सञ्चालन गर्न स्थानीय तह, स्वास्थ्य संस्था र सुरक्षा संयन्त्रबीच समन्वय गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।रासस