२५ पुस, काठमाडौं

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्नेदेखि सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको  छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार आइतबार मात्र ११६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१५ माघसम्म विद्यालय बन्द

कोरोना संक्रमण बढेसँगै सीसीएमसीसीले १५ माघसम्म आधारभूत र माध्यमक विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

विद्यालयहरुलाई १५ माघसम्म हिउँदे विदा दिन र अभिभावकहरुलाई आफ्ना छोराछोरी विद्यालय नपठाउन पनि अनुरोध गरेको छ । ‘कतिपय विद्यालयमा हिउदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरेका हौं, यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक्षा छ’ सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले भनिन्, ‘निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेका छौं ।’

विद्यालय बन्द रहेको अवस्थामा पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी तथा १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ ।

सीसीएमसीसीको निर्णयअनुुसार पूर्वनिर्धारित सेमेस्टर तथा बार्षिक परीक्षाहरु रोकिने छैन ।

राजनीतिक कार्यक्रम नगर्न आह्वान

सीसीएमसीसीले सार्वजनिक स्थानहरुमा २५ जनाभन्दा बढी भेला हुन तथा सभा समारोह गर्न रोक लगाएको छ ।  नगरी नहुने नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनले अनुमति दिनेछ । यसका लागि गृह मन्त्रालयले सबै स्थानीय प्रशासनलाई परिपत्र गर्ने सीसीएमसीसीको निर्णय छ ।

खोप कार्ड अनिवार्य

यसैगरी माघ ७ गतेदेखि सार्वजनिक स्थानहरुमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको छ । यो निर्णयअनुसार अब सार्वजनिक कार्यालय, होटल तथा रेष्टुरेन्ट, सिनेमा हल, रंगशालामा प्रवेश तथा आन्तरिक हवाई यात्राका लागि पनि खोपकार्ड देखाउनुपर्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर