
२०७८ पुष २३, शुक्रबार
आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत दुबई आएका ११८ नेपाली युवा अलपत्र परेका छन् ।
पटक–पटक गरेर चार/पाँच महिनाअघि मनग्य तलबसहित आकर्षक जागिर पाउने आशामा भिजिट भिसामा दुबई आइपुगेका युवा अलपत्र परेका हुन् ।
यसरी आएकामध्ये ४ दर्जनभन्दा बढी युवा नेपाली सेनाको जागिर छाडेर आएका हुन् भने कोही सेनाकै अवकाश प्राप्त छन् ।
आफूलाई भिजिट भिसामा दुबई ल्याएर काम लगाउँछु भन्दै बिचल्ली बनाउने टिमका मुख्य नाइके कोमलराज उपाध्याय रहेको पीडितको भनाइ छ । उपाध्याय त्रिनेत्र कन्सल्टेन्सीका मालिक हुन् ।
उनले भने, ‘हामी अहिले ११८ जना नेपाली छौं, आर्म्स गार्डको लागि भनेर हामीलाई दुबई ल्याएको ४ महिना भइसक्यो तर अहिलेसम्म कुनै काम लगाएको छैन ।’
यसरी आएकामध्ये धेरैजसोको भिसा अवधि समाप्त भएको उनले जानकारी दिए । ‘पासपोर्ट माग्दा धम्क्याउँछ, हामीसँगै दुबई आर्मी, सुरक्षा गार्ड (सेक्युरिटी) का लागि नेपालबाट आएका अन्य साथीहरु पनि छन् ।
उता जागिर छाडेर यता आइयो । यहाँ आएपछि बिचल्ली भयो ।’
केही समय अघि नेपाली सेनामा काम गरेका नेपालीलाई मात्रै दुबईमा आर्म्स गार्डका लागि जागिर खुलेको भन्दै त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीले प्रचार गरेको थियो ।
प्रतिव्यक्ति ३ हजार दिर्हाम अर्थात् करिब (१ लाख रुपैयाँ) तलबसहित खान र बस्न फ्रिसहित राम्रो सुविधा हुने आश्वासनमा उनीहरु भिजिट भिसामा दुबई पुगेका हुन् ।
लामो समयसम्म पनि काम नपाएर बिचल्ली भएपछि गत नोभेम्बर २७ मा एक हप्ताभित्र काम लगाइदिने भन्दै उपाध्ययले पीडितहरुसँग लिखित कागज गरेका थिए तर, जनवरी ७ सम्म पनि काम नलगाएपछि विचल्लीमा परेका युवाहरु दुबईमा रहेको त्रिनेत्र अफिस पुगे ।
उपाध्यायले पीडितहरुलाई आफूले नचिन्ने र अफिसमा नआउन भनेपछि त्यहाँ केहीबेर तनावपूर्ण अवस्था बनेको थियो ।
जसका कारण उपाध्यायलाई स्थानीय प्रहरीले पक्राउसमेत गरेको थियो ।
पक्राउ परेको केही समयपछि उनलाई छाडिएको छ । उनीसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
यता नेपाली दूतावास आबुधावीले उक्त घटनालाई निकै गम्भीरतापूर्वक हेरिएको बताएको छ ।
दूतावासकी श्रम काउन्सिलर निर्मला थापाका अनुसार उक्त घटनाबारे श्रम मन्त्रालयका उच्च पदाधिकारीले दूतावासमा सम्पर्क गरेकाले पीडितहरुसँग पनि सम्पर्क भइरहेको छ ।
थापाले भनिन्, ‘त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका मालिक कोमलराज उपाध्याय दूतावासको सम्पर्कमा आउनु भएको छ ।
उहाँले पीडितहरुलाई आफू र आफ्नो कम्पनीले भिजिट भिसामा दुबई नल्याएको तर आवश्यक बासस्थान मात्र दिएको दाबी गर्नुभएको छ ।’
सोमबार दूतावास खुल्नासाथ यसबारे आवश्यक प्रक्रिया अघि बढाउने उनले जानकारी दिइन् ।
यसरी अवैध रुपमा दलालहरूले विमानस्थलका कर्मचारीमार्फत सेटिङमा दुबई ल्याएका हजारौँ नेपाली अहिले अलपत्र अवस्थामा छन् ।
पछिल्लो समय भिजिट भिसाको नाममा दलालहरूले नेपालीलाई दुबई ल्याएर अलपत्र पार्ने कार्य निकै बढ्न थालेको छ ।
पछिल्लो तथ्यांक अनुसार ६० हजार नेपाली भिजिट भिसामा दुबई आइपुगेका छन् ।
तर स्वेच्छाले भिजिट भिसामा दुबई जान चाहेका नेपालीहरुलाई भने त्यति सहज छैन ।
अध्यागमनका कर्मचारीले केहीदिन अघिमात्र एउटा सहकारी संस्थाका पदाधिकारीहरु भिजिट भिसामा दुबई घुम्न जान लागेको अवस्थामा उनीहरुलाई फर्काएको थियो ।
तर दलालहरूले आफ्नो पहुँच र अध्यागमनका कर्मचारीलाई कमिशन बुझाएर यस्तो काम सहज रुपमा गर्दै आइरहेका छन् । रातोपाटि वाट