२२ पुस २०७८, बिहीबार

पुस २५ गतेदेखि हुने भनिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ।

गुजरातमा हुने ‘भाइब्रेन्ट गुजरात’ समिटका लागि प्रधानमन्त्री देउवालाई निम्तो आएको थियो। गुजरातमै प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम थियो।

कोरोना संक्रमण बढेपछि गुजरात सरकारले बिहीबार भाइब्रेन्ट गुजरात समिट स्थगित गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द भएको बताए।

‘कार्यक्रम नै स्थगित भएकाले उहाँको भारत भ्रमण रद्द भएको छ,’ उनले  भने।

भारतमा बिहीबार एकैदिन ९० हजार मानिसमा कोरोनाको संक्रमण भएको थियो।

भारतमा पछिल्लो समय कोरोनाभाइरसको तेस्रो लहर चलिरहेको छ।

केही दिनअघिसम्म पाँच हजारभन्दा तल रहेको भारतको दैनिक कोरोना संक्रमण ओमिक्रोन भेरियन्ट आएसँग दिनदिनै बढिरहेको छ।

गुजरातमा बुधबार ३ हजार ३ सय ५० मानिसमा कोरोनाभाइरसको संक्रमण भएको थियो।

कोरोनाको तेस्रो लहर बढेकाले गुजरात सरकारले भाइब्रेन्ट गुजरात समिट सारेको हो। गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रान्त हो। २०१४ मा भारतीय प्रधानमन्त्री हुनुअघि उनी गुजरातका मुख्यमन्त्री थिए।

सन् २००३ देखि सुरू भएको भाइब्रेन्ट गुजरात ग्लोबल समिट दुई/दुई वर्षमा हुने गरेको छ।

भाइब्रेन्ट गुजरातमा विभिन्न देशका राष्ट्र र सरकार प्रमुख, मन्त्रीहरू, विभिन्न कम्पनीका सिइओहरू सहभागी हुन्छन्।

यसपालिको समिटका लागि देउवासहित रूसका प्रधानमन्त्री मिखाइल मिसुस्तिन, मोजाम्बिकका राष्ट्रपति, मोरिसस र स्लोभेनियाका प्रधानमन्त्रीलाई पनि निम्तो दिइएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर