
६ असोज २०७८, बुधवार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाइ विदेशी मुद्रा अवैध रुपमा बाहिरी मूलक लैजान खोज्ने दुई जना पक्राउ परेका छन् ।
नेपाल एयरलाइन्सको उडान द्वारा काठमाण्डौँबाट दुबई जान लागेका गुल्मी छत्रकोटका ३९ वर्षीय तुलसीराम कँडेललाई प्रहरीले पक्राउ गरेको हो ।
ब्यागेज चेकिङ एरियामा प्रहरीले चेकजाँच गर्ने क्रममा कँडेलको लगेजभित्र साउदी रियाल पचास हजार, दुबई दिराम तीन सय असी र नेपाली रुपैयाँ सोह्र हजार प्रहरीले बरामद गरेको थियो । उनलाई सोधपुछ गर्दा सो मुद्राहरु गुल्मीका ३८ वर्षीय केशबराज कँडेलले दिइ पठाएको बयान दिएका थिए ।
केशबराजलाई पनि प्रहरीले अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थान कक्ष बाहिरपट्टिको एरियाबाट नियन्त्रणमा लिएको थियो । दुवैलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारबाहीको लागि बरामदसहित राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ ।