पत्रपत्रिका
नागरीक दैनिक

२ असोज २०७८, शनिवार

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसिसीलगायतका विषयलाई जोडेर सत्ता गठबन्धन तोड्ने प्रयास भइरहेको बताएका छन्। काठमाडौंको मीनभवनस्थित आलोकनगरमा शुक्रबार पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले भने, ‘एमसिसीका नाममा अनेक किसिमका दाउपेच चलिरहेका छन्।

सत्ता गठबन्धनलाई भाँड्ने र तोड्ने प्रयासहरू भइरहेका छन्। विभिन्न भ्रम सिर्जना गर्ने काम भइरहेका छन्। कुनै पनि भ्रममा नपरी अघि बढ्न म आग्रह गर्दछु।’ उनले सत्ता गठबन्धन भत्काउने दाउपेच सफल नहुने दाबी गरे।

अध्यक्ष नेपालले अब संसद्मा पार्टीको भूमिका स्वाभाविक रुपमा सत्ता पक्षको हुने बताए। नेकपा एस सत्ता गठबन्धनको महत्वपूर्ण हिस्सा भएकाले सरकार सञ्चालनमा सहयोगी भूमिका हुने उनको भनाइ थियो। ‘हामी सत्ता गठबन्धनसँग सहकार्य गरेर अघि बढ्नेछौं। हामीले संघीय सरकारसँगै प्रदेश सरकामा पनि सहभागी भएर, सहकार्य गरेर महत्वपूर्ण भूमिका निर्वाह गर्नेछौं,’ उनले भने।

अध्यक्ष नेपालले आफूहरू तल्लो तहसम्म पनि सहकार्यको संस्कृति लिएर जाने बताए। उनले सत्ता गठबन्धनविरुद्ध फैलाइएका भ्रम चिर्दै र लगाइएका आरोपको सशक्त खण्डन गर्दै अघि बढ्ने बताए।

अध्यक्ष नेपालले ५ गते केन्द्रीय समितिको बैठक डाकिएको र उक्त बैठकपछि सम्भवतः आफ्नो पार्टी सरकारमा सहभागी हुने बताए। उनले प्रदेश १ र वाग्मती प्रदेशमा नयाँ सरकार गठनको तयारी भइरहेको जानकारी पनि दिए। उनले जुनसुकै बेला पनि ती प्रदेशमा नयाँ सरकार गठन हुने बताए।

वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य र प्रदेश १ मा भीम आचार्यले सरकारको नेतृत्व गरिरहेका छन्। दुवैजना एमाले विभाजन हुनुअघि नेता नेपालको पक्षमा थिए। पार्टी विभाजनका क्रममा उनीहरू नेपाललाई छाडेर एमालेमै बसेका हुन्। नेपालले विगतमा आफूलाई साथ दिएका र अहिले एमालेमा रहेका नेता–कार्यकर्तालाई नेकपा एसमा आउन सधैँ ढोका खुला रहेको बताए।

अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले एमसिसीका लागि सीमा नाघेर हस्तक्षेप गराउने काम गरेको आरोप लगाए। उनले यस विषयमा जनताको मानसिकतालाई पनि ध्यानमा राखिने बताए।

अध्यक्ष नेपालले शुक्रबार आयोजित अर्काे एक कार्यक्रममा भ्रममा परेर एमालेमा रहेका नेता–कार्यकर्ता ढिलोछिटो आफ्नो पार्टीमा आउने दाबी गरे। एकीकृत वैदैशिक रोजगार व्यवसायी संगठन नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कतिपय नेता–कार्यकर्ता अल्मलिएर एमालेमै रहेको र उनीहरू आफ्नो पार्टीमा आउने बताएका हुन्। उनले आफ्नो पार्टी पूर्णतया नयाँ नभई एमालेभित्रको क्रान्तिकारी धार भएको बताउँदै हाल ७७ वटै जिल्लामा संगठन विस्तारको काम भइरहेको जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर